११ श्रावण २०८१, शुक्रबार

सत्र वर्षकै उमेरमा धुम्रपान शुरु गर्छन्– अध्ययन प्रतिवेदन



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशका धुम्रपान गर्ने व्यक्तिहरूले औसत १७ वर्षकै उमेरमा धुम्रपान शुरु गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको “नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षण (स्टेप्स सर्भे)” ले सुदूरपश्चिम प्रदेशमा दैनिक धुम्रपान गर्ने व्यक्तिमध्ये पहिलो पटक धुम्रपान गर्न शुरु गर्दाको औसत उमेर १७ वर्ष रहेको देखाएको छ ।


सर्भेक्षण गत फेब्रअरीदेखि मे सम्म गरिएको थियो । अध्ययनले सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव आठ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा हाल धुम्रपान सेवन गर्नेहरूको संख्या २६ दशमलव छ प्रतिशत रहेको उल्लेख छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा चुरोट (उत्पादन गरिएको÷हातले बेरेको चुरोट) सेवन गर्नेहरूको संख्या १९ दशमलव आठ प्रतिशत रहेको छ भने धुँवारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या १६ दशमलब आठ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
देशभरका १५ देखि ६९ वर्ष उमेरका पा“च हजार पा“च सय ९३ जनामा सो सर्भेक्षण गरिएको जनाइएको छ । यस्तो सर्भेक्षण हरेक पा“च वर्षको अन्तरालमा गर्ने गरिएको छ ।
सर्वेक्षणमा नेपालका २८ दशमलव नौ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । प्रदेशगतमा सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ३६ दशमलव ६ प्रतिशत जनताले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ ।
चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेमा सुदूरपश्चिम प्रदेश दोस्रो नम्बरमा रहेको छ । नेपालको सबैभन्दा कम प्रदेश नम्बर १ मा २२ दशमलव आठ प्रतिशतले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाइएको छ ।
सर्भेक्षणले महिलाको तुलनामा पुरुषहरु पांच गुणा बढी धुम्रपानको अम्मली रहेको देखाएको छ । सर्भेक्षण अनुसार नेपालका ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।
चुरोटको तुलनामा धु“वारहित अन्य सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या बढी रहेको सर्भेक्षणले देखाएको छ । चुरोट सेवन गर्ने १४ दशमलव पांच प्रतिशत रहेका छन् भने धु“वारहित सुर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८ दशमलव ३ प्रतिशत रहेको छ ।
चरोट तथा सुर्तिजन्य पदार्थ मुटु, मधुमेह, रक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारण हो । चिकित्सिकले दीर्घकालिन रोगका प्रमुख कारण भएकाले यस्ता पदार्थ सेवन नगर्न सुझाब दिने गरेका छन् ।
सर्भेक्षण अनुसार नेपालमा विद्युतीय चुरोट प्रयोग गर्नेको संख्या बढेको छ । विगतमा यस्ता चुरोट प्रयोग गर्नेको संख्या नगन्य हुन्थ्यो । तर, अहिले सर्भेक्षणले झण्डै दुई प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको देखाएको छ । सर्भेक्षण अनुसार एक दशमलव सात प्रतिशत पुरुषले विद्युतीय चुरोट प्रयोग गर्ने गरेका छन् ।
भारत, चीन तथा धेरै देशले विद्युतीय चुरोट प्रतिबन्ध लगाइसकेका छन् । नेपालले पनि सन् २०१४ मा यस्ता चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको भए पनि सो निर्णय अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार