२३ कार्तिक २०८२, आईतवार

सम्पादकीय : लोगोमा त्रुटी – असावधानी वा हेल्चक्राई ?



सुदूरपश्चिम प्रदेश सरकारको लोगोमा राखिएको सुदूरपश्चिम प्रदेशको नक्सामा त्रृटी रहेको पाइएपछि यो असाबधानीबस भएको गल्ती थियो वा हेल्चक्राई थियो भन्ने स्वाभाविक प्रश्न उठेको छ । सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनबाट पारित भएको प्रदेशको लोगोमा प्रयोग भएको सुदूरपश्चिम प्रदेशको नक्साको केही भाग चिनको तिब्बत र केही भाग कर्णाली प्रदेशमा राखिएको भूगोलविदहरूले पुष्टि गरेका छन् । प्रदेशको आधिकारिक लोगोमा रहेको यस प्रकारको गल्ती असाबधानीबस भयो वा गम्भीर हेलचक्राई थियो भन्ने मुख्य सवाल हो । राज्यका आधिकारिक राष्ट्रिय चिन्ह, निशानछापमा सानो गल्ती पनि हुनुहुदैन । किनकि राष्ट्रिय चिन्ह, निशानछापले राष्ट्रको परिचय मात्रै दिदैन, यी राज्यको विशेषता, मौलिकता तथा महत्वको द्योतक पनि हुन् । सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशनबाट पारित गरिएको प्रदेशको आधिकारिक निशानछाप (लोगो) मा रहेको गम्भीर गल्तीबारे करिब डेढ वर्षपछि मात्रै जानकारी हुनु आफैंमा उदेगलाग्दो विषय हो । यसले प्रदेश सरकार तथा प्रदेश सभा यस्ता महत्वपूर्ण विषयमा गम्भीर रहेको छैेनन् भन्ने निष्कर्ष निकाल्दा अत्युक्ति हुदैन ।
सुदूरपश्चिम प्रदेशलाई झल्काउने लोगोमा रहेको गल्ती तत्काल सच्याउन प्रदेश सरकार तथा प्रदेश सभाले उपयुक्त पहल गर्ने नै छन्, साथै भविष्यमा यस्ता विषयमा बढी सजगता अपनाउन आवश्यक छ । प्रदेश संरचना संघीयताको केन्द्रीय विषयवस्तु रहेको परिप्रेक्ष्यमा सरकारका आधिकारिक निशानछाप, प्रदेशका अन्य चिन्ह निर्माण गर्दा अलिकति पनि गल्तीले प्रदेश शासनप्रति आम जनताको विश्वास र आस्थामा चोट लाग्ने छ भन्ने पनि बोध हुनु आवश्यक हुन्छ । प्रदेश सरकारको आधिकारिक लोगो निर्माणका क्रममा भएको मानवीय गल्तीलाई तत्काल सच्याएर सरकार तथा प्रदेश सभाले यसप्रतिको संवेदनशीलताको प्रत्याभूति दिनु आवश्यक हुन्छ । अघिल्लो वर्ष प्रदेश सरकारको एउटा मन्त्रालयमा राष्ट्रिय झण्डा नै उल्टो राखिएको पाइएको थियो । मन्त्रालयमा राष्ट्रिय झण्डा नै उल्टो राखिएको बारे चर्चा भएपछि त्यसबारे प्रदेश सरकारले गम्भीरता देखाउन सकेन । राष्ट्रिय झण्डा नै उल्टो राख्ने, कतिपय सरकारी कार्यालयमा राखिएका राष्ट्रिय झण्डा फाटेको अवस्थामा महिनौसम्म रहदा पनि फेर्नेतर्फ ध्यान नदिएका पनि दृष्टान्त छन् । राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, राज्यका निशानछापमा कुनै पनि किसिमको लापरबाही दोहोरिन नपावस भन्नेतर्फ सरकारी निकाय गम्भीर हुनु आवश्यक हुन्छ ।
कालापानी, लिम्पियाधुरा लगायत नेपालको पश्चिमी सिमाका भूभाग भारतले आफ्नो नक्सामा राखेकोप्रति मुलुकभित्र व्यापक विरोध र चासो व्यक्त भइरहेको सन्दर्भमा सुदूरपश्चिम सरकारको आधिकारिक लोगोमा राखिएको प्रदेशको नक्साको केही भाग नै छिमेकी मुलुकको भागका रुपमा देखाइएको पाइनु निश्चय पनि आपत्तिजनक हो । सुदूरपश्चिम प्रदेशको सरकारी लोगोले यस प्रदेशका सबै क्षेत्र, समुदाय, जातजाति, संस्कृति तथा विशेषताको झलक दिने भएकाले यसमा भएको गल्तीबारे प्रदेश सरकारले बोध गर्दै भविष्यमा यस्ता कुनै पनि प्रकारका गल्ती हुनेछैनन् भन्ने आम जनतालाई आवस्त पार्नु आवश्यक हुन्छ । लोगो निर्माणका क्रममा देखिएको मानवीय गल्तीलाई सच्याउदै सरकारले यस्ता विषयमा आफू गम्भीर र संवेदनशील रहेको पनि प्रत्याभूति दिने तत्परता देखाउनु उचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार