२५ मंसिर २०८१, मंगलवार

छ लेन सडकलाई शहरी सडक बनाउन माग



धनगढी । धनगढीका उद्योगी व्यवसायीहरूले मोहना–अत्तरिया छ लेन सडकलाई शहरी सडक बनाउन माग गरेका छन् ।

कैलाली उद्योग बाणिज्य संघले सोमबार धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरूले मोहना–अत्तरिया छ लेन सडकलाई राजमार्गमा रुपमा नभई शहरी र औद्योगिक सडकका रुपमा विकास गर्न माग गरे । व्यवसायीहरूले अहिलेको डिजाइनका आधारमा सो सडकलाई छ लेन सडक बनाइएमा उद्योग र पसलहरूमा ठूला मालबाहक साधन लग्न नमिल्ने पनि ध्यानाकर्षण गरे ।
व्यवसायीहरूले मोहना पुलदेखि अत्तरियासम्मको छ लेन सडक सर्वे हुदाको समयभन्दा निर्माण भइरहेको अवस्था फरक रहेकोले सो सडकलाई शहरी सडक र औद्योगिक क्षेत्रमैत्री बनाउन माग गरे ।
कार्यक्रममा व्यवसायी मायाप्रकाश भट्टले छ लेन सडकको वरिपरी व्यवसाय गरिरहेका व्यवसायी र उद्योगीहरूलाई पसल र उद्योगमा सामान ल्याउन ठूला साधनहरू लैजान अहिलेको सडकको डिजाइन अनु्सार नमिल्ने बताए । उनले समयमै बिचार पु¥याएर सडक निर्माण गर्नुपर्ने बताए ।
उद्योगी हरिशंकर ठाकुरले नेपालगञ्ज–कोहलपुर सडकमा रहेका उद्योगहरूलाई राजमार्गबाटै सोझै बाटो दिइएकोले यता पनि त्यसै अनुसार हु्नपर्ने माग गरे ।
छ लेन सडक आयोजना प्रमुख होमबहादुर अधिकारीले हरेक घर र व्यवसायिक फर्मका लागि बाटो दिन नसकिने बताए । उनले पेट्रोल पम्प र केही उद्योगहरूका लागि बाटो बनाउन आयोजना सकारात्मक रहेको बताए ।
सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरूले चालू आर्थिक बर्षमै छ लेन सडक कालोपत्रे भइसक्ने बताएका छन् । राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर रोशन भट्टले चालू आर्थिक बर्षमा बसै काम पुरा गर्ने गरी काम भइरहेको बताए । उनले सडकमा काम गरिरहेका सबै निर्माण कम्पनीहरूले चालू आर्थिक बर्षमै सक्ने गरी काम गरिरहेको जनाए ।
सडक कालोपत्रे गर्ने अन्तिम तयारी भइसक्दा समेत सडक विभागले यस सडक खण्डमा पर्ने तीन वटा पुलहरू निर्माणका लागि टेण्डर समेत गरेको छैन । छ लेन सडक आयोजनाका प्रमुख अधिकारीका अनुसार पुलहरूको डिजाइनको काम सकिएको छ । उनले बिभागले परामर्शदातालाई डिजाइनमा सामान्य परिवर्तन गर्न भनेको र सो परिवर्तन भई स्वीकृतिका लागि विभागसम्म आइपुगेको जानकारी आफुले पाएकोले छिट्टै टेण्डर आव्हान हुने तयारी गरिरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार