४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य सेवामा सुधारबारे अन्तरक्रिया



धनगढी । कैलाली जिल्लामा स्वास्थ्य सेवा सुधारबारे आइतबार धनगढीमा सरोकारवालाहरूबीच अन्तरक्रिया भएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाका प्रतिनिधीहरूबीच जिल्लाको स्वास्थ्य सेवाको अवस्था र चुनौति तथा सुधारका लागि गर्नुपर्ने प्रयासबारे छलफल भएको जनाइएको छ ।
सो अवसरमा स्वास्थ्य संस्थाहरूमा विद्यमान स्वास्थ्यकर्मीहरूको अभाव, नवजात शिशुको उच्च मृत्युदर, खोप कार्यक्रम सञ्चालनमा विद्यमान समस्या, असुरक्षित गर्भपतन, परिवार नियोजन साधनको प्रयोग दरमा आएको कमी, कुष्ठरोग, औलो, सिकलसेल एनिमिया लगायतका रोगमा देखिएको समस्याबारे छलफल भएको थियो ।
छलफलका क्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कैलाली जिल्लाका अन्य स्थानीय तहको तुलनामा उपमहानगरपालिकामा स्वास्थ्य सेवा प्रवाहको अवस्था राम्रो रहे पनि अझैं निकै चुनौति रहेको चर्चा गरे ।
उनले भने– उपमहानगरपालिकाले अहिले पनि सबैभन्दा बढी कर्मचारी समायोजनको समस्या बेहोर्नु परेको अवस्था छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा आठौं तहको स्वास्थ्य अधिकृत रहने व्यवस्था भए पनि अहिले सिनियर अहेवको मात्रै पदपूर्ति भएको छ ।
उनले धनगढी शहरी क्षेत्र भएकाले प्रायः कर्मचार आउन चाहे पनि आवश्यक कर्मचारीको अभाव रहेको बताए ।
छलफलमा जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कैलाली जिल्लाको स्वास्थ्य सेवाको अवस्था क्रमशः कमजोर हुदै गएको बताए । उनले भने– उपमहानगरपालिका वा कुनै एक स्थानीय तहमा स्वास्थ्य सेवाको अवस्था राम्रो भएर पुग्दैन, समग्र जिल्लाको स्वास्थ्य सेवाको अवस्था राम्रो भएमात्र स्वास्थ्यका लक्ष्यहरू प्राप्त हुन्छन् ।
उनले सेती प्रादेशिक अस्पतालमा नै नवजात शिशुको मृत्यूदर प्रतिहजार जीवित जन्ममा २९ दशमलव सात जना रहेको तथ्यांकले स्वास्थ्य सेवाको अवस्थाको चित्रण गर्ने बताए । उनले जिल्लामा अस्थायी साधन प्रयोगकर्ता ४० प्रतिशत रहनु तथा नियमित खोप सेवा प्रभावकारी रुपमा चल्न नसकेको अवस्था रहेको बताए ।
सुदूरपश्चिम प्रदेशकको सामाजिक विकास मन्त्रालयका डाक्टर खगेन्द्र बमले कैलाली जिल्ला सेवासुविधाका दृष्टिले सुगम मानिए पनि स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको बताए ।
त्यस्तै, मन्त्रालयका डाक्टर चेतराज जोशीले सेती प्रादेशिक अस्पतालको अवस्थामा सुधार ल्याउन सके मात्रै पनि प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार