११ श्रावण २०८१, शुक्रबार

धनगढी–खुटिया सडक : बल्ल कालोपत्रे गरिदै



धनगढी । निर्माण भएदेखि नै यात्रु तथा सवारी चालकका लागि सास्तीका रुपमा रहेकोे धनगढीको पिपल चौतारादेखि खुटियासम्मको सडक बल्ल कालोपत्रे हुने भएका छ ।


धनगढीको पिपल चौतारादेखि खुटिया स्याउलेसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने कामका लागि तिहारपछि टेण्डर आव्हान गरिने जनाइएको छ ।
शनिबार प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूका साथै सडक डिभिजन कार्यालय महेन्द्रनगरका कर्मचारीहरूले सो सडककोे स्थलगत निरीक्षण गरेका थिए ।
लामो समयदेखि धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकाका लागि चुनौतिका रुपमा रहेको सो सडक खण्डलाई पछिल्लो पटक संघीय सरकारले खुटिया–दिपायल द्रुतमार्गमा गाभेको छ ।
यसअघि, धनगढी–खुटिया सडकसहित खुटिया–दिपायल द्रुतमार्ग प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । तर प्रदेश सरकारले ठूलो लगानीको आवश्यकता रहेको भन्दै संघीय सरकारमा नै रहनुपर्ने माग गरेपछि सो सडक संघमै फर्काइएको थियो ।
सडक निरीक्षणको क्रममा सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले धनगढी–खुटिया सडक कालोपत्रे गर्नको लागि तिहार लगत्तै स्टीमेट तयार पारिने बताए । उनले सडक विभागले स्वकृति दिएपछि कात्तिक महिनाभित्रै सडक कालोपत्रेका लागि टेन्डर आव्हान गरिने बताए । कार्यालय प्रमुख बमले धनगढी–खुटिया सडक खण्डका आसपासका नागरिकको समस्यालाई ध्यानमा राखी पहिलो चरणमै सो सडक कालोपत्रे गरिने बताए ।
सडक पिच गर्ने तयारीसंगै जनप्रतिनिधिहरुले सडक विस्तार बारे विज्ञ र स्थानीयहरूसँग छलफल समेत थालेका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले तत्कालका लागि दुई लेनको सडक कालोपत्रे हुनुपर्ने बताए ।
शनिबार सडक निरीक्षणमा संघीय सांसद् नारदमुनी राना, प्रदेशका पुर्वाधार विकास मन्त्री बोहरा, धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्ट, सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बम लगायतको सहभागिता थियो ।
योसंगै धनगढी–खुटिया सडक पीच गर्न माग गर्दै आएका स्थानीयहरुको माग सम्बोधन हुने संकेत देखिएको छ । वर्षात्मा हिलाम्य र अन्य सिजनमा धुलाम्य रहने र खाल्डाखुल्डीले हिंड्नै गाह्रो हुने सो सडकका छेउका नागरिकले सडकका कारण वर्षैभरि विभिन्न समस्या झेल्नु परेको छ ।
चालु आर्थिक वर्षको बजेट भाषण मार्फत् संघीय सरकारले धनगढी–दिपायल, चैनपुर, ताक्लाकोट द्रुतमार्गमा बजेट समेत हालेको छ । अघिल्लो वर्ष कुन सरकार मातहत रहने भन्ने एकीन नहुँदा बजेट भाषणमा नाम उल्लेख गरिएपनि बजेट पर्न सकेको थिएन ।
प्रतिनिधि सभाका सदस्य रानाले प्रदेश सरकारले वर्ष भरीको पुरै बजेट सडकमा खर्च गरे पनि नबन्ने अवस्था भएकोले फेरी सङ्घीय सरकार मातहत हुने गरी धनगढी–दिपायल द्रुतमार्ग राखिएको बताए । उनले सङ्घीय सरकार र मन्त्रीसँगको पटक पटकको आग्रहपछि सो सडकका लागि रातो किताबमै उल्लेख गरी बजेट व्यवस्था भएको भएको बताए ।
सो सडकलाई छिट्टै कालोपत्रे गराउन सबैको सहयोग आवश्यक रहने सांसद रानाले बताए । सांसद् रानाले तिहार लगत्तै टेण्डर आव्हान गर्ने तयारी भइरहेको जनाए ।
प्रदेशका पूर्वाधार विकास मन्त्री बोहराले संघीय सरकारले सो सडक निर्माण प्रक्रिया चाँडै अगाडि बढाउनुपर्ने बताए । उनले सो सडक निर्माणका लागि प्रदेश सरकारले गर्नुपर्ने सम्पूर्ण सहयोगहरु गर्न तयार रहेको बताए ।
यसअघि आर्थिक वर्ष २०६४÷०६५ मा जिल्ला विकास समिति कैलाली मार्फत् ओटासिल प्रविधिबाट पीच गरिएको सो सडक बनेको तीन महिनामै भत्किएको थियो । सो विषयलाई लिएर वर्षौसम्म सर्वोच्यमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार