भजनी राइस मिलअन्तर्गत जग्गा फिर्ता गर्ने किसानमा हारिका कठरिया, भगवानदिन थारू, जन्जिरे चौधरी, घनश्याम राना थारू, मन्जिरे चौधरी, सुखराम बंडायक, रंगीलाला डगौरा थारू, भागुराम/लहानु/बाधु/कन्ठु कठरिया, दिलीप कठरिया, जागु डगौरा थारू, चोधु थारू, चुरमान कठरिया थारू, सुडेनवा कठरिया, लालसिंह कठरिया/प्रेमलाल कठरिया छन् । यस्तै सीताराम डगौरा थारू, लछिना थारू, रामबहादुर डगौरा, धुधुवा डगौरा र चुन्नीलाल डगौरा, पञ्चराम डगौरा थारू, मायादेवी पाण्डेय, भोलेराम चौधरी, हीरालाल डगौरा थारू, कर्रा कठरिया थारू, चेहरा डगौरा थारू, टहरा डगौरा थारू, टहरा डगौरा थारू, घुराह डगौरा थारू, सम्राटशमशेर जबरा, चरित्र विक्रम राणा र नथुवा कठरिया थारूको पनि जग्गा फुकुवा हुन लागेको हो । ती किसानको जग्गा बैंकमा ६४ लाख १३ हजार ९ सय १५ रुपैयाँमा दृष्टिबन्धक राखिएको थियो । त्यसबापत किसानले १ करोड २८ लाख २७ हजार ८ सय ३० रुपैयाँ भुक्तानी गरेका छन् ।
यस्तै, मनुवा राइस मिलअन्तर्गत धितो रहेको जग्गा फुकुवा गर्ने किसानमा झिलमिलिया रावत थारू, महावीर राना थारू, परमानन्द बडायक र छोटेलाल कठरिया छन् । ती किसानको जग्गा २ लाख ६० हजार रुपैयाँमा दृष्टिबन्धक राखिएको बैंकले जनाएको छ । जग्गा फिर्ताका लागि किसानले ५ लाख २० हजार रुपैयाँ भुक्तानी गरिसकेका छन् । दुष्यन्त राइस मिलअन्तर्गत धितो रहेको जग्गा फुकुवा गर्ने किसानमा सुकदिन थारू, बाबुराम कठरिया थारू, खुसीराम थारू, भंगी बंडायक, बैजनाथ बंडायक, भागीराम बंडायक थारू र जंगबहादुर कठरिया थारू छन् । ती किसानको जग्गा १४ लाख ७२ हजार ८ सय ८७ रुपैयाँमा दृष्टिबन्धक राखिएको थियो । अहिले किसानले २९ लाख ४५ हजार ७ सय ७४ रुपैयाँ तिरेर फुकुवा गर्न लागेका हुन् ।
छिट्टै लालपुर्जा फिर्ता
ऋण असुली न्यायाधिकरणबाट लगतकट्टी भएसँगै नेपाल बैंकले किसानको लालपुर्जा छिट्टै फिर्ता गर्ने भएको छ । ऋणीले ऋण नतिरेपछि किसान बाध्य भएर ऋण तिर्न थालेकाले यो प्रक्रियामा थप ढिलाइ गर्न नहुने बैंकको निष्कर्ष छ । ‘प्रक्रिया पूरा भएपछि सम्भवतः छिट्टै लालपुर्जा फिर्ता गर्छौं,’ स्रोतले भन्यो । किसानबाट केही रकम आए पनि मल्ल समूहको सबै ऋण असुली नहुने भएको छ । ऋणीको कुल ऋणमा किसानबाट प्राप्त रकम कटाएर बाँकी रकम मल्ल समूहबाट उठाइने बैंकले जनाएको छ । ऋणीबाट ऋण असुली भएपछि किसानले तिरेको रकम के हुन्छ भन्ने जिज्ञासामा बैंकले भन्यो, ‘यो आंशिक लगत कट्टी हो, बाँकी रकम मात्र ऋणीबाट असुलउपर हुन्छ । यसकारण किसानको रकम फिर्ता हुँदैन ।’
मल्ल अझै प्रदेश प्रमुख
कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने संवैधानिक व्यवस्था छ । यस आधारमा मोहनराज मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद् विपिन अधिकारीले बताए । तर मल्लले करिब दुई वर्षदेखि प्रदेश प्रमुखका रूपमा काम गरिरहेका छन् । संविधानको धारा १६४ मा प्रदेश प्रमुखका लागि संघीय सांसद हुन आवश्यक सबै योग्यता पूरा भएको र कुनै कानुनले पनि अयोग्य नभएको व्यक्ति हुनुपर्छ । ‘यसका आधारमा बैंकको ऋण नतिरेर कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुख हुन कानुनतः अयोग्य ठहरिन्छ,’ अधिकारीले भने । बैंकको ऋण नतिरेर कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुखका रूपमा नैतिक र सामाजिक रूपमा पनि अयोग्य हुने उनले बताए ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघमा मल्लसहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । मल्ल तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य थिए । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य रहेका मल्ल केही वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । देउवा सरकारले उनलाई कांग्रेसको कोटाबाट प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
कान्तिपुर दैनिकबाट