३१ बैशाख २०८१, सोमबार

नजिकिंदै नेपाल भ्रमण वर्ष २०२० : प्रदेश पर्यटन प्रवद्र्धन समितिमा अन्योल कायमै



धनगढी  । नेपाल भ्रमण वर्ष २०२० आउन अढाई महिना मात्रै बाकी रहदा पनि भ्रमण वर्षलाई सघाउन सुदूरपश्चिममा गठन भएको पर्यटन प्रवद्र्धन समितिमा अझैं अन्योल कायमै छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रदेशको उद्योग, वन, वातावरण मन्त्रालयले चासो नदिएका कारण समितिको बैठक समेत बस्न सकेको छैन । गत जेठ २६ गते संघीय पर्यटन मन्त्रीद्वारा गठन गरिएको सुदूरपश्चिम पर्यटन प्रवद्र्धन समितिमा समावेश भएका सदस्यहरूले अहिलेसम्म औपचारिक रुपमा जिम्मेवारी नपाएको बताएका छन् ।
प्रदेशको पर्यटन मन्त्रालयले भने संघीय मन्त्रालयबाट कुनै औपचारिक जानकारी नआएको जनाएको छ । मन्त्रालयका पर्यटन विकास शाखाका सहायक वन अधिकृत भोजराज पाठकले संघीय मन्त्रालयबाट प्रदेश मन्त्रालयमा समितिको काम, कर्तव्य तथा जिम्मेवारी उल्लेख गरेको पत्र नआएको बताए । उनले संघीय मन्त्रालयको पत्र नआएकाले समितिको बैठक बसाउन नसकिएको बताए ।
यद्यपि, समितिमा सदस्य छानिएका पर्वतारोहण व्यवसायी किशोर खड्काले समितिका अध्यक्ष चयन भएका प्रदेशको मन्त्रीले जिम्मेवार नहुँदा समितिको बैठक समेत बस्न नसकेको बताए । उनले मन्त्रीले चासो देखाएमा समयमै समितिको बैठक बसी प्रदेशको समितिमार्फत् भ्रमण वर्षका लागि काम गर्न सकिने बताए ।
समितिका कार्यक्रम संयोजक चयन भएका परमानन्द भण्डारीले जिम्मेवारी नआएकाले कुनै पनि काम गर्न नसकिएको बताए । उनले संघीय मन्त्रालयले सदस्य थपेर प्रदेशमा पठाइसकेको अनौपचारिक जानकारी पाएको बताए । तर प्रदेश मन्त्रालयले समितिको बैठक बोलाउनुपर्नेमा ढिलो भएको उनले बताए ।
गत भदौ १० गते बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको संघीय प्रर्यटन प्रबद्र्धन समितिको बैठकले सुदूरपश्चिम प्रदेश पर्यटन प्रबद्र्धन समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो । पुनर्गठनको जानकारी समेत नआएको मन्त्रालयका सहायक वन अधिकृत पाठकले बताए ।
प्रदेश पर्यटन प्रबद्र्धन समिति गठन भएपछि पहाडी जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाहरूलाई नसमेटिएको भन्दै आलोचना भएको थियो । सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन प्रबद्र्धन समितिले विरोध र पूर्णता नपाएकै कारण जिम्मेवारी समेत पाउन सकेको छैन ।
संघीय मन्त्रालयबाट प्रदेशस्तरीय पर्यटन प्रबद्र्धन समितिको सदस्यमा नियुक्त भएको पत्र आएपनि प्रदेश पर्यटन प्रबद्र्धन समितिको सचिवालयबाट कुनै पनि जानकारी र समन्वयको पहल हुन नसकेको समितिका सदस्यहरू अन्यौलमा छन् । कार्यक्रम संयोजक भण्डारी स्वयम्ले आफू कुन पदमा छु भन्नेमा दोधारमा परेका छन् । उनले आफू सदस्य नै रहेको बताए ।
प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट अध्यक्ष रहने गरी समिति गठन भएको थियो । समितिको सहअध्यक्षमा प्रदेशका प्रमुख सचिव र सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव तथा प्रदेश कार्यक्रम संयोजक परमानन्द भण्डारी चयन भएका थिए ।
समितिमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधीहरूलाई सदस्यमा राखिएको छ । नेपाल उद्योग वाणिज्य संघ कैलाली, कञ्चनपुर, डडेल्धुराका अध्यक्ष, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, व्यवसायी गोपी हमाल, सञ्जय चौधरी, मायाप्रकाश भट्ट, सुवास शाही, चन्द्र विष्ट, मानबहादुर शाही, किशोर खडका, सामाजिक अभियन्ता धर्मराज पाठक, चिकित्सक कल्पना गैरे सदस्य चयन भएका थिए ।
यो समिति गठन भएपछि सुदूरपश्चिममा सामाजिक सञ्चाल, प्रेस विज्ञप्ति लगायतका माध्यमबाट पहाडी जिल्लाहरूलाई समेट्न नसकेको भन्दै आलोचना भएको थियो । प्रदेशका सबै क्षेत्रलाई समेट्नका लागि समिति पुनर्गठन गर्ने निर्णय भएको प्रदेश सचिव काफ्लेले बताए ।
समितिका कार्यक्रम संयोजक भण्डारीले समितिले चाँडै औपचारिकता पाएमा अझै पनि धेरै काम गर्न सकिने बताए । उनले संघका सुदूरपश्चिमलाई पर्यटन क्षेत्र नमान्ने गरेकाले पनि समितिलाई औपचारिकता दिन ढिलो भएको बताए ।
समिति नै अन्यौलमा रहेकाले नेपाल सरकारले घोषणा गरेको पर्यटन गन्तव्यहरूको प्रचार गर्ने वा कुनै निश्चित पर्यटकीय गन्तव्यको प्रचार गरी पर्यटक भित्र्याउने भन्ने पनि निश्चित हुन सकेको छैन । यसले गर्दा नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकलाई नेपालमा ल्याउने महत्वांक्षी योजनामै ठेस पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार