११ श्रावण २०८१, शुक्रबार

अवैध बिषादी विक्री वितरण भइरहेको गुनासो



धनगढी । सुदूरपश्चिम प्रदेशमा अबैध बिषादीहरुको प्रयोग बढेको सरोकारवालाहरुले बताएका छन् ।


उपभोक्ता हित संरक्षण मञ्च सुदूरपशिचम प्रदेश समिति र सावतीको संयुक्त आयोजनामा बुधबार धनगढीमा भएको बिषादी सम्बन्धी छलफल कार्यक्रमका सहभागीहरुले प्रदेश राजधानीमै अबैध विषादीको विक्री वितरण भइरहेको बताएका हुन् । उनीहरुले धनगढी र भारतीय सीमावर्ती बजारबाट अवैध बिषादीको बिक्री बितरण अत्यधिक रहेको बताए ।
कार्यक्रममा धनगढीका एग्रोभेट ब्यवसायी बिष्णुराज बुर्लाकोटीले पसलहरुबाट बिषादी किन्ने क्रम घटेको भएपनि तरकारीमा प्रयोग हुने मात्रा नघटेकोले भारतबाट अवैध रुपमा आइरहेको बिषादी प्रयोग भइरहेको पुष्टि हुने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सावतीका कार्यक्रम निर्देशक डा. धु्रवेशचन्द्र रेग्मीले नेपालमा दर्ता नभएका बिषादीहरु खुला सीमाका कारण प्रयोग भइरहेको बताए ।
उनले नेपालमा बिषादीको प्रयोग समस्या बन्दै गएकोले उचित ब्यवस्थापन नहुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा समेत असर पर्ने बताए । उनले नेपालमा सबै ठाउँमा बिषादीको परीक्षण गर्ने प्रयोगशालाको अभावले पनि समस्या भएको बताए ।
उपभोक्त हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाले नेपालमा बिषादी सम्बन्धी कानूनी ब्यवस्थाबारे जानकारी दिँदै नेपालमा २९ प्रकारका बिषादी मात्रै दर्ता भएको भएपनि प्रयोगकर्ताले ति भन्दा बाहेकका बिषादी पनि प्रयोग गरिरहेको पाइएको बताए ।
उनले बिषादी ऐन २०४९ लाई प्रतिस्थापन गर्दै हालै मात्र बिषादी ऐन २०७६ जारी भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने र बजारमा अनुगमन अधिकारी खटाएरै बिषादी नियन्त्रण गर्न उनले सुझाव दिए ।
बिषादीको नियन्त्रणका लागि स्थानीय मिडिया सहित सबै सरोकारवालाहरुको सहयोग लिएर काम शुरु गर्न नियमाक निकायहरुलाई उनको अनुरोध छ । कार्यक्रममा उपस्थित तरकारी किसानहरु राजकुमारी चौधरी, माया जोगी, गयाप्रसाद कठरियाले आफुहरुले जैविक बिषादीको प्रयोग गरिरहेकोले आफ्नो उत्पादनको बजार प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरे ।

उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समितिका अधयक्ष डा. भवानसिंह चलाउनेले नेपालमा आयातित बिषादीको मात्रा ८० प्रतिशत रहेको बिभिन्न अध्ययनहरुले देखाएकोले सरकारले सुदूरपशिचम प्रदेशमा बिषादी परीक्षणका लागि ब्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार