२३ बैशाख २०८१, आईतवार

पटकपटक तालाबन्दीको चपेटमा सुप विश्वविद्यालय



कञ्चनपुर । स्थापनाकालदेखि नै विभिन्न समस्या भोग्दै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय पटकपटकको तालाबन्दीका कारण थप अस्तव्यस्त बन्दै आएको छ । सानोतिनो निहुमा पनि कहिले विद्यार्थी संगठनहरूले त कहिेले प्राध्यापक वा कर्मचारीले तालाबन्दी गर्दै आएका छन् ।


पछिल्लो पटक भएको तालाबन्दीको छ महिना बढी भइसकेको छ । छ महिनाअघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले उपकुलपति र रजिष्ट्रार नियुक्तिको विषयमा विश्वविद्यालयको केन्द्रीय कार्यालयको मुलद्वारमा तालाबन्दी गरेको थियो ।
नेविसंघले विश्वविद्यालयमा दुई जना उपकुलपति र रजिष्ट्रार नियुक्ति गरेका गरेको भन्दै गत साल चैत २७ गते तालाबन्दी गरेको बताइएको छ ।
त्यस्तै, नेपाली का“ग्रेस निकट प्राध्यापक संघले हचुवाको भरमा असक्षम व्यक्तिलाई परीक्षा नियन्त्रक पदमा नियुक्त गरेको भन्दै परीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रकमा सह–प्राध्यापक देवसिंह नाथलाई नियुक्ति गरिएको थियो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दीपछि कामकाज ठप्प भएको छ । तालाबन्दीपछि केन्द्रीय कार्यालयका कर्मचारीहरू बाहिरै बस्ने गरेका छन् । केन्द्रीय कार्यालयमा तालाबन्दीपछि रजिष्ट्रारको निवासबाट दैनिक कामकाज भईरहेकोमा नेविसंघले त्यहा“ पनि तालाबन्दी गरेपछि अहिले विश्वविद्यालयको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ । नेविसंघले आफ्ना मागप्रति विश्वविद्यालय प्रशासनले चासो नदेखाएको भन्दै गत साउन ८ गते रजिष्ट्रार निवासमा तालाबन्दी गरेको छ ।
अहिलेसम्म तालबान्दी खोल्नेबारे विश्वविद्यालय प्रशासन तथा विद्यार्थी संगठनबीच कुनै ठोस वार्ता नै हुन सकेको छैन । विश्वविद्यालय प्रशासनले नेविसंघले वार्तामा बस्नै नचाहेको दाबी गरेको छ भने नेविसंघले विश्वविद्यालयले वार्ताका लागि पहल नै नगरेको प्रत्यारोप लगाउने गरेको छ ।
यसअघि तत्कालिन उपकुलपति डाक्टर भूषण श्रेष्ठ र रजिष्ट्रार डाक्टर द्विजराज भट्टको म्याद नसकि“दै सरकारले उपकुलपतिमा डाक्टर पूर्णवहादुर चन्द र रजिष्ट्रारमा डाक्टर गोबिन्दसिंह विष्टलाई नियुक्ती गरेको थियो ।
तत्कालिन उपकुलपति श्रेष्ठको गत भदौ ६ गते सेवाअवधि सकिएको थियो भने तत्कालीन रजिष्ट्रार भट्टको आगामी १२ गते अवधि सकिदैछ ।
विश्वविद्यालयका प्रमुख प्रशासक गोविन्दवल्लभ पन्तले तालाबन्दीका कारण चालू आर्थिक बर्ष २०७६÷०७७ को विश्वविद्यालयको नीति तथा कार्यक्रम समेत प्रभावित हुने बताए ।
उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएका १४ वटा आंगिक क्याम्पस सहित केन्द्रीय क्याम्पसको सुधार तथा भावि योजनाबारे छलफल गर्न अहिलेसम्म सिनेटको बैठक नै बस्न नसकेको बताए ।
गत साउन १३ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार बैद्यको अध्यक्षतामा बसेको बैठकमा रजिष्ट्रार निवासको तालाबन्दी खोल्ने सहमति भए पनि नेविसंघले पछि सहमति पालना नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार