३ जेष्ठ २०८१, बिहीबार

टीकापुर उद्योग बाणिज्य संघमा भण्डारी प्यानल विजयी



टीकापुर । टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर भण्डारी प्यानल विजयी भएको छ । भण्डारी प्यानललाई नेपाली काँग्रेसको समर्थन रहेको थियो ।
शनिबार राती सार्वजनिक भएको मत गणना परिणाम अनुसार अध्यक्षमा भण्डारीले पाँच सय ४१ मत सहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी ध्रुवराज खत्रीले तीन सय २० मत प्राप्त गरे ।
मत गणना परिणाम अनुसार संघको पदाधिकारी र सदस्यहरू मध्ये एक सदस्यबाहेक अरु सबै उम्मेदवार भण्डारी प्यानलबाट विजयी भएका छन् ।
भण्डारी प्यानलबाट उपाध्यक्ष (बाणिज्य) तर्फ पाँच सय २७ मत प्राप्त गरी चक्रपाणी सापकोटा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कृष्णप्रसाद उपाध्याय बजगाईले तीन सय चार मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्ष (उद्योग) तर्फ भण्डारी प्यानलकै जगतराज चौधरी चार सय ६३ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी रामप्रसाद चौधरीले तीन सय ३७ मत पाए ।
महासचिवमा पनि भण्डारी प्यानलका तपेन्द्र स्वांर चार सय ८२ मत सहित विजय भए । उनका प्रतिद्वन्द्वी प्रेमबहादुर रावलले तीन सय ३३ मत प्राप्त गरे ।
त्यस्तै, सचिवमा गणेश रेग्मी चार सय ४५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी टोप प्रकाश विकले तीन सय ६८ मत पाए ।
कोषाध्यक्षमा पाँच सय १० मत सहित कमल चौधरी विजयी भए । उनका प्रतिद्वन्द्वी मोहन प्रसाद जैशीले तीन सय १४ मत पाए ।
त्यस्तै, महिला सदस्यमा शिला सापकोटाले चार सय ९९ मत सहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी गौरी न्यौपानेले तीन सय ३० मत पाइन् ।
जनजाती सदस्यमा जितबहादुर चौधरी चार सय ११ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी किरण चौधरीले चार सय दुई मत पाए । भने दलित सदस्यमा अमित टमट्टा नेपाली चार सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी माया बागदासले तीन सय ५७ मत पाए ।
खुल्ला सदस्यहरूमा भण्डारी प्यानलका नवराज रिमाल (पाँच सय २१), तपेन्द्र कुंवर (पाँच सय सात), मानबहादुर ठकुल्ला (चार सय ७३), रामबहादुर साउद (चार सय ४५), टेकबहादुर सोडारी (चार सय ४३), सन्तोष खड्का (तीन सय ९७) र हिक्मत रावल तीन सय ८७ मत सहित विजयी भएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए ।
खत्री प्यानलका जीवन गौचन मात्र चार सय मत सहित बिजयी भए । भण्डारी समूहका सदस्य पदका उम्मेदवार बीरेन्द्र कुँवर मात्रै पराजित भएका छन् ।
शनिबार भएको चुनावमा एक हजार दुई मत मध्ये नौ सय १६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार