५ जेष्ठ २०८१, शनिबार

श्राद्ध परेकोले सुत्केरीलाई सुई लगाउन मानेन् चिकित्सकले



गोकर्ण दयाल/बैतडी । सुत्केरीको अप्रेशन गर्ने तयारी हुँदा चिकित्सकले घरमा बुवाको श्राद्ध परेको भन्दै सुई लगाउन नमान्दा एक सुत्केरीलाई बैतडी अस्पतालले झण्डै एक सय किलोमिटर टाढा डडेलधुरा पठाएको छ ।

सुत्केरी व्यथा लागेर असोज १ गते जिल्ला अस्पताल भर्ना भएकी दशरथ चन्द नगरपालिका वडा नम्बर ४ की २५ बर्षिया कलावती जोशीको अप्रेशन हुन नसकेपछि शुक्रबार विहान ९ बजे डडेल्धुरा रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डा. देवेन्द्र लेखकले जानकारी दिए ।
डा. लेखकले भने, “ सुत्केरी हुनका लागि जोशी असोज १ गते अस्पताल भर्ना हुनु भएको थियो । उहाँ सहजै सुत्केरी हुने अवस्था नभएपछि शुक्रवार अप्रेशन गर्ने तयारी गरिएको थियो । अप्रेशन अघि सुई लगाउने गरेका स्वास्थ्यकर्मी खेमराज भट्टले भोली घरमा बुवाको श्राद्ध परेकोले सुत्केरीलाई सुई लगाउन सक्दिन भन्नुभयो । धेरै कर गर्ने कुरा पनि भएन । त्यसपछि सुत्केरीलाई डडेल्धुरा रेफर गरेका हौ । ”
सुदुरपश्चिममा श्राद्धका बेला सुत्केरी र महिनावारी भएका महिलालाई छुनु हुन्न भन्ने परम्परागत मान्यता भएकोले भट्टले सुइ नलगाएको हुन सक्ने बताइएको छ । सो विषयमा भट्टसंग बुझ्दा उनले सुत्केरी नछुने मान्यताले होइन, भोली शनिवार घरमा बुवाको श्राद्ध परेकोले घर जानु पर्ने हुँदा सुई नलगाएको बताए ।

भट्टल भने ,“ सुत्केरीलाई सुई लगाएर घर जान मिलेन । कुनै समस्या परे अस्पतालमै बस्नु पर्ने भएकोले सुई नलगाएको हुँ । सुत्केरी नछुने मान्यता होईन, मैले तुरुन्तै घर जानु परेकोले डाक्टरले सुत्केरी रेफर गरेका हुन् ।”
सुत्केरी रेफरको भएको विषयमा बैतडीका प्रमुख जिल्ला अधिकारीले गम्भीर चासो लिएको बताए । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने ,“ स्वास्थ्यकर्मीको घरमा बुवाको श्राद्ध परेकोले सुई नलगाएको विषयम मैले गम्भीर चासो लिएर बुझ्दा डाक्टर र ऐनेस्थेसियावीच केही मनमुटाव पनि रहेछ । जुनसुकै कारणले पनि एउटा सुत्केरीले जिल्लामै पाउने सेवा नपाएको विषयमा आवश्यक जाँचबुझ गर्छु ।” समाजमा भएका यस्ता गलत मान्यता र प्रथा अन्त्य गर्न सबै जागरुक बन्नु पर्ने प्रजिक पौडेलले बताए ।
चिकित्सकले घरमा श्राद्ध परेको भन्दै सुत्केरीलाई सुई नलगाई दिँदा जिल्लामै पाउने सेवा नपाएकोले जिल्ला बाहिर जानुपर्दा हजारौं रुपियाँ खर्च भएको र अनावश्यक दुःख र व्यहोर्नु परेको सुत्केरीका आफन्तले बताएका छन् ।

रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा नीजि जिप महङ्गोमा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताए । बैतडी अस्पतालले भने अस्पतालको एम्बुलेन्स बिग्रेको बताएको छ ।
दशरथचन्द्र नगरपालिका वडा नम्बर ६ कि २३ बर्षिया पार्वती नाथलाई पनि अप्रेशन गर्नु अघि सुई लगाउने स्वास्थ्यकर्मी नहुँदा शुक्रबार दिउँसो २ः ३० बजे डडेलधुरा पठाइएको छ । अप्रेशन गर्नु अघि सुई लगाउने गरेका भट्ट शुक्रबार दिउँसो बुबाको श्राद्ध गर्न भनेर घर गएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार