१० श्रावण २०८१, बिहीबार

मकैजोनका किसानलाई बाली जोगाउन कठिनाई



बैतडी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा स्थापना गरिएको मकैजोनका किसानलाई मकै जोगाउन कठिनाई भइरहेको छ ।


मकै उत्पादनमा वृद्धि गरी मकै प्रशोधन गर्ने लक्ष्यका साथ मकैजोन स्थापना गरी लगाइएको मकैमा बदेल र बादर पल्किएपछि किसानलाई जोगाउन गाह्रो भएको हो । जंगली जनावरका कारण मकै उत्पादनमा ह्रास आउने संकेत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले बताए ।
मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानहरूलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको भएपनि भित्र्याउने समयमा जंगली जनावरले मकैबाली सखाप पार्दा उत्पादनमा कमी आउने देखिएको उनले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा मकैजोन कार्यक्रम लागू भएपनि मकै जोगाउन धौधौ परेको उनले बताए । मकैबाली मुख्य खाद्यबाली भएपनि पछिल्लो समयमा यसको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जनाए । जंगली जनावरहरूले मकैबाली सखाप पारेको बिषयमा सबैठाउँमा जानकारी गराएको भएपनि समस्या समाधानको उपाय भने ननिस्केको मकैजोन कार्यालयका प्रमुख महराले बताए ।
बैतडीमा पछिल्ला बर्षहरूमा मकैको उत्पादनमा कम आएको छ । गतबर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो । आर्थिक बर्ष २०७३ र ७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भएपनि किसानहरूले भने क्षतिपूर्ती पाउने गरेका छैनन् । बालीबीमा नगरेका कारण किसानहरूले क्षतिपूर्ती पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त चन्दले बताए ।
बैतडीमा हाल १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बादर र बदेलले वर्षेनी मकैबालीमा क्षति गर्ने भएकोले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ । जंगली जनावरका साथै पहाडवाट तराइमा भइरहेको बसाइसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार