१० श्रावण २०८१, बिहीबार

राजमार्गहरूमा बढ्दो जोखिम



डडेल्धुरा । धनगढीदेखि डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरादेखि डोटी जोड्ने केआईसिंह राजमार्ग क्षतीग्रस्त बन्दै गएका छन् ।


स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी रुपमा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त बन्दै गएका हुन् ।
डडेल्धुरा जिल्लामा बुडर–जोगवुढा, उग्रतारा–मेलौली, पोखरा–बेलापुर, बागबजार–बगरकोट सडकलाई मुख्य सडकका रुपमा लिएको भए पनि हाल ती सडकबाट पनि विभिन्न ग्रामीण क्षेत्रमा जाने शाखा सडकको निर्माणले गर्दा मुख्य सडक जोखिममा परेको प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।
मापदण्ड विपरीत बनाइएका शाखा सडकहरूका कारण राष्ट्रिय राजमार्गको नालीमा अवरोध हुने, सडक अवरोध हुने, सडक बिग्रने गरी पहिरो आउने, सडकको कालोपत्र उप्किदा खाल्टाखुल्टी पर्ने लगायतको समस्या देखिएको छ । सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए ।
प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिइ मापदण्ड पु¥याएर सडक निर्माण गर्नुपर्ने भए पनि स्थानीय तहले अटेर गरेर शाखा सडक निर्माण गर्ने गरिरहेको उनले बताए । शाखा सडक निर्माणले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनका लागि समस्या हुने गरेको चालकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार