४ जेष्ठ २०८१, शुक्रबार

स्क्रबटाइफस रोगको संक्रमण बढ्यो



डडेल्धुरा । डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ । डडेल्धुरा अस्पतालका अनुसार पछिल्लो दश दिनको अवधिमा एक सय २८ जनाको स्वास्थ्यजाँचका क्रममा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।


डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रसाद भुषालले भदौ ५ गतेदेखि १५ गतेसम्म ज्वरो आएका एक सय २८ जनाको स्वास्थ्यजाँच गर्दा २७ जनामा स्क्रब टाइफस देखिएको जानकारी दिए ।
डडेल्धुरा अस्पतालमा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेका छन् । प्रयोगशाला इन्चार्ज भूषालले स्क्रबटाइफस संक्रमण देखिएका बिरामी डडेल्धुराका मात्र नभई अन्य जिल्लाका पनि रहेको बताए ।
स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुराका डाक्टर उत्तम भट्टले बताए ।
स्क्रब टाइफसको प्रमुख लक्षणका रुपमा छालामा घाउ देखिने गर्दछ । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले लामो समयदेखि टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेको बताए ।
गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखापरेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखापरेको थियो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले रोगको संक्रमण अझ बढी भएको हुनसक्ने आशंका गरेको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर गुणराज अवस्थीले अन्य जिल्लामा पनि स्क्रब टाइफसको संक्रमण बढेको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार