१० श्रावण २०८१, बिहीबार

वडा कार्यालय भवनबारे मुद्दा



सुखड। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालयबारे अदालतमा मुद्दा दायर भएको छ ।

स्थानीय डम्बर थापाले जनताको मागलाई वेवास्ता गर्दै वडा कार्यालयले अनुपयुक्त स्थानमा कार्यालय भवन निर्माण गर्न लागेको भन्दै पुनरावेदन अदालत, दीपायलमा मु्द्दा दायर गरेका छन् ।
उनले वडाध्यक्ष विनोद विश्वकर्माले स्थानीयबासीको मागको वेवास्ता गर्दै मनोमानी ढंगले अनुपयुक्त स्थानमा वडा कार्यालय भवन निर्माण गरिरहेको दाबी सहित मुद्दा दायर गरेको बताएका छन् ।
बडाबासीले वडा कार्यालय भवनका लागि प्रतिखेत उपयुक्त स्थान भएको बताए पनि वडाध्यक्षले आफुखुसी ढंगले बसन्ता चौकमा निर्माण गर्न थालेको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीमा वडा नम्बर २ र ६ को सिमामा पर्ने नदी किनारमा रहेको जग्गामा वडा कार्यालय भवन निर्माण गर्दा जनतालाई सेवा लिन सास्ती हुने दाबी गरिएको छ ।
वडा अध्यक्ष विश्वकर्माले अघिल्लो वर्ष मंसिरमा वडा भेलाले नै बसन्ता चौकमा वडा कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको बताए ।
तर, उजुरीकर्ता थापाले अघिल्लो वर्ष मंसिर ८ गते बोलाइएको भेलाबाट सो सम्बन्धमा कुनै निर्णय नभएको र ११ गते बौनियाको एक होटलमा सिमित ब्यक्तिहरू जम्मा भएर निर्णय गरिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार