२३ बैशाख २०८१, आईतवार

कर कार्यालयमा किन लाग्छ भीड ? (हेर्नुस्, भिडियाे)



 

धनगढी । धनगढीस्थित आन्तरिक राजश्व कार्यालयमा अरु दिनमा झैं बिहीबार पनि बिहानैदेखि भीड लागेको थियो ।

कार्यालय खुल्नुअघि नै सेवाग्राहीहरू आ–आफ्नो फाइल कर अधिकृतलाई बुझाउन तछामछाड गरिरहेका थिए । कोही कर चुक्ताका लागि आएका थिए, भने कोही कर दाखिला गर्न । सरकारले कुनै पनि किसिमको कारोबार गर्न प्यान आवश्यक पर्ने अनिवार्य गरेपछि आन्तरिक राजश्व कार्यालयमा हरेक दिन व्यक्तिगत प्यान लिनेहरूको भीड लाग्ने गरेको छ ।
आन्तरिक राजश्व कार्यालय धनगढीले चालू आर्थिक वर्षको पहिलो महिना साउन १ गतेदेखि ४४ दिनको अवधिमा १७ हजार छ सय ९४ जनालाई व्यक्तिगत प्यान प्रदान गरेको छ । सरकारले चालू आर्थिक वर्ष भन्दा १० वर्ष पहिले (अार्थिक वर्ष २०६६/०६७ बाट) नै व्यक्तिगत प्यान लिनुपर्ने व्यवस्था गरेको भए पनि २०७६ असार मसान्तसम्म २८ हजार तीन सय २० जनाले मात्रै प्यान लिएका थिए । “अनिवार्य नगर्दासम्म कुनै पनि नियम कार्यान्वयन नहुने भएकाले व्यक्तिगत प्यान अनिवार्य गरेर प्यान नलिई गरेको खर्च अमान्य हुने व्यवस्था गरेको छ’ आन्तरिक राजश्व कार्यालयका कर अधिकृत तथा सूचना अधिकारी काशीराज पौड्यालले भने– त्यही भएर अहिले प्यानको लागि धेरै जना लाइनमा छन् ।
नेपाल सरकारले आन्तरिक राजश्व कार्यालय धनगढीलाई चालू आर्थिक वर्षमा आठ हजार व्यक्तिगत प्यान वितरण गर्ने लक्ष्य दिएको छ । तर, चालू आर्थिक वर्षको पहिलो डेढ महिनाको अवधिमै वार्षिक लक्ष्यभन्दा दुई सय २१ प्रतिशतभन्दा बढि प्यान वितरण भइसकेको छ ।
कर अधिकृत पौड्यालले अहिले कार्यालयले दैनिक छदेखि सात सय व्यक्तिगत प्यान वितरण गरिरहेको बताए । “कार्यालयको दरबन्दी अनुसार यति धेरै प्यान वितरण गर्न सम्भव छैन’ उनले भने– हामीले विहान साढे नौ बजेदेखि सा“झ साढे सात बजेसम्म बसेर भए पनि व्यक्तिगत प्यान वितरण गरिरहेका छौं । उनले लाइन लाग्नेहरूलाई पालो अनुसार प्यान वितरण गरिरहेको बताए । सूचना अधिकृत पौड्यालले सेना र प्रहरीको एकै पटक धेरै निवेदन आउने गरेकोेले एक दिनपछि वितरण गर्ने गरेको बताए ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजश्व कार्यालय धनगढीलाई तीन अर्ब ४२ करोड २० लाख ३८ हजार रुपैयाँको राजश्व संकलन लक्ष्य दिएकोमा तीन अर्ब ७२ करोड ६ लाख २५ हजार रुपैयाँ (१०८.७२ प्रतिशत) संकलन गरेको जनाएको छ । चालू आर्थिक वर्षको साउन महिनामा ६३ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य रहेकोमा आन्तरिक राजश्व कार्यालय, धनगढीले ६९ करोड रुपैयाँ संकलन गरेको छ ।


आन्तरिक राजश्व कार्यालय, धनगढीमा व्यक्तिगत प्यान लिने, राजश्व दाखिला गर्ने र करचुक्ता लिनेको भिड लाग्ने गरेको छ । राजश्व दाखिला गर्न बैंकिङ सेवाको व्यवस्था गरिएको कर अधिकृत पौड्यालले बताए । उनले लेखापरीक्षण गरिसकेपछि विवरण पनि घरमै बसेर भर्न सकिने व्यवस्था गरिएको बताए । उनले विवरण भरिसकेपछि करचुक्ता आवश्यक परे जतिबेला पनि लिन सक्ने व्यवस्था गरिएको बताए । उनले आवश्यक नपरे करचुक्ता नलिंदा पनि फरक नपर्ने व्यवस्था रहेको बताए ।
अधिकांस सेवाग्राही कर दाखिला, विवरण इन्ट्री गर्न र करचुक्ता लिन आन्तरिक राजश्व कार्यालय मै धाउने गरेका छन् । “करदाताले सम्बन्धित बैंकमै कर बुझाए हुन्छ र आफै.ले इन्टरनेटमा विवरण राखे हुन्छ, कर कार्यालय धाउनै पर्दैन, तै पनि सधैं भिड लाग्ने गरेको छ’ कर अधिकृत पौड्यालले भने– कतिपय सेवाग्राहीले अनावश्यक कुरामा पनि करचुक्ता लिने गरेका छन् । सबैले करचुक्ता लिनुपर्ने आवश्यकता हुदैन, तर कयितपय करदाताले नबुझेका कारण पनि भीड लाग्ने गरेको छ ।

कर अधिकृत पौड्यालका अनुसार धनगढीमा एभेरेष्ट बैंक, लम्कीमा एनआईसि एसिया, टीकापुरमा नेपाल बैंक लिमिटेड र पहाडी जिल्लाहरूमा नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकमा कर दाखिला गर्ने व्यवस्था गरिएको छ ।
उनले कर तिर्नका लागि ई–सेवाको पनि व्यवस्था गरिएको बताए । उनले बैंकिङ सेवा र ईसेवाको व्यवस्थाको पूर्ण उपभोग गरिएमा कर कार्यालयमा भिड कम हुने र करदातालाई पनि सहज हुने बताए ।
उनले कार्यालय मै आएर सेवा लिने मानसिकतामा कमी नआएको तथा कर्मचारीको कमीका कारण समस्या भइरहेको बताए ।
कर अधिकृत पौड्यालले भने– कार्यालयमा २४ जनाको दरबन्दी छ । ५० हजार करदाता छन् । कर तिर्ने ठाउँमा भिड लाग्नु स्वाभाविक हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार