६ जेष्ठ २०८१, आईतवार

संसदीय समितिद्वारा भारताल बनको अनुगमन



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले भारताल वन अन्तरगतका सामुदायिक वनहरूको अनुगमन गरेको छ ।

समितिका सभापति हर्कबहादुर कुँवरको नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, प्रदेश वन निर्देशनालयका अधिकारी तथा वन डिभिजन कार्यालय कैलालीका अधिकारहरूको सहभागिता रहेको थियो ।
वैज्ञानिक वनको नाममा अनधिकृत रुख कटानी भएको भन्दै समिति लगायत वन डिभिजन कार्यालयमा उजुरी परेपछि समितिले छानविन गर्न अनुगमन शुरु गरेको जनाएको छ ।
समितिका सभापति क“ुवरले अनुगमनको क्रममा भेटिएको तथ्यको आधारमा समितिको बैठकबाट निर्णय गरेर प्रतिवदेन तयार पारिने बताए । उनले उजुरीमा उल्लेख भएका अन्य सामुदायिक वनहरूको समेत अनुगमन गरिने बताए ।

अनुगमन टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १६, भादाको गणेश सामुदायिक वन, वडा नम्बर १५ उर्माको कैलाश सामुदायिक वन र कैलारी गाउपालिका वडा नम्बर ६, खरुवाखेराको शितलझाडी सामुदायिक वन अनुगमन गरेको जनाएको छ ।
अनुगमनका क्रममा तिन वटै सामुदायिक वनमा रुख कटानी गरिएको स्थानको अवलोकन गरिनुका साथै सामुदायिक बन समूहका पदाधिकारी र सदस्यहरूसंग छलफल गरिएको थियो ।
गणेश सामुदायिक वनमा कार्ययोजना अनुसार रुख कटानी रोकिएको छ । कैशाल सामुदायिक वन र शितलझाडी सामुदायिक वनमा कार्ययोजना अनुसार रुख कटानी गरी घाटगड्डी गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार