२३ बैशाख २०८१, आईतवार

विदेशबाट भिडियो कन्फ्रेन्स बैठक बोलाउनु गलत : रावल (भिडियाेसहित)



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको बताएका छन् ।


नेकपाको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयले बुधवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले प्रधानमन्त्री आफैले उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएपनि विदेशबाट आफै मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी पनि नभएको र यो काम आफैमा विवादास्पद भएको बताए । ‘देशको सुरक्षा र गोपनीयताको कुरामा भिडियो कन्फ्रेन्स उपयुक्त होइन,’ रक्षा र गृह मन्त्रालय हाँकिसकेका रावलले भने, ‘आधुनिक युगमा गयौं भन्दैमा अरु कुनै चिजको ख्याल नगरिनु राम्रो होइन । भोलिका दिनमा प्रदेश र स्थानीय तहका सरकारले पनि यही सिको गर्न सक्ने नेता रावलको भनाई छ ।
फरक प्रसंगमा रावलले हालै टीकापुर पुगेर बावुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेपाल आफैमा सार्वभौंम देश भएकाले यसभित्र हक अधिकार भन्दै जातीय राज्यको कुरा उठाउनु बिखण्डन गर्न खोज्नु भएको दावी गरे । जनचाहना अनुसार संविधान सभा मार्फत बनाइएको संविधान विपरित जातीय राज्यका कुरा उठाएर मिलेर बसेका समाजलाई आन्दोलन गर्न उस्काउनु, समुदाय–समुदायवीच बैमनुस्यता पैदा गराउने गरी भड्काउनु राष्ट्र र राष्ट्रियता नै बिखण्डन गर्न खोज्नु भएको भन्दै उनले जिम्मेवार नेता बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि उस्काएको आरोप लगाए ।

भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको बताउँदै माक्सबादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई लागिरहेको रावलको आरोप छ । ‘तराई र पहाड मिल्न दिनुहुँदैन भन्ने कुरा बाबुरामको संविधान बनाउने बेलादेखिको निरन्तरता हो,’ उनले भने, ‘देशको प्रधानमन्त्रीसमेत भइसकेको मान्छेले यस्तो कुरा गर्नु सुहाउँदैन ।’
नेता रावलले बाबुराम जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुख पाएको बताए । ‘अरुलाई भड्काएर आफू कता जान्छन् जान्छन्’ उनले भने , ‘दुःख पाउने अरु नै हुन्छन् ।’ बाबुरामले भनेजस्तो देशमा जातीय राज्य बन्न सक्ने सम्भावनासमेत नरहेको रावलको भनाई छ । ‘जातीय राज्य चाहिने नै हो भने नेपालमा एक सय २४ राज्य बनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘राउटेले पनि राज्य खोज्छ, चेपाङले पनि ।’


संघीय समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केही दिन पहिले टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तिकालागि थप आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले प्रदेशका सबै स्थानीय तहमा छिट्टै नेकपा विस्तार गरिने बताए । त्योसँगै पार्टी एकीकरणको प्रकृया पनि चाँडै टुङ्गिने उनको भनाइ छ ।
केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने जानकारी दिए । गाउँ/नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार