१० श्रावण २०८१, बिहीबार

थरुहट थारुवान राष्ट्रिय सम्मेलन शुरु : वक्ताहरूको उद्घोष– थारु विशेष प्रदेश नभएसम्म आन्दोलन



एकिन्द्र तिमिल्सिना/टीकापुर । कैलालीको टीकापुरमा शनिबारदेखि थरुहट/थारुवान राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलन भोली (सोमबार) सम्म चल्ने बताइएको छ ।


चार वर्षअघि भदौ ७ र ८ गतेको टीकापुर घटनापछि पहिलो पटक टीकापुरमा थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।
थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गतेको हिंसात्मक घटनामा बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको हत्या भएको थियो ।
घटनाको दोस्रो दिन (भदौ ८ गते) फूलबारी एफएम सहित थारु समुदायका दर्जनौ घर तथा पसलमा व्यापक आगजनी र लुटपाट भएको थियो ।
राष्ट्रिय सम्मेलनमा नेपालका २५ जिल्लाका दुई हजार बढी प्रतिनिधि सहभागी भएको आयोजक थरुहट/थारुवान राष्ट्रिय सम्मेलन समितिले जनाएको छ ।
टीकापुृरको सिटीहलमा शुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी (पर्सा), राष्ट्रिय जनता पार्टी (राजपा) नेताहरू लक्ष्मण लालकर्ण, चन्द्रनारायण चौधरी र विजयकान्त कर्ण, बरिष्ठ पत्रकार किशोर नेपाल, समाजशास्त्री डाक्टर ओम गुरुङ, थरुहट नेता लक्ष्मण चौधरी, लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, आदिवासी जनजाति नेता राजकुमार लेखी, गोविन्द छन्त्याल लगायतले मन्तव्य व्यक्त गरे ।
थरुहट सहितका नेता वक्ताहरूले थरुहट विशेष प्रदेश नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरे ।
वक्ताहरूले नेपालको संविधान, २०७२ अनुसार प्रदेशहरूको निर्माण भए पनि थारु पहिचान सहितको प्रदेश नबनेकोले आन्दोलन जारी रहेको बताए । उनीहरूले संविधानमा संशोधन गरेर थारु विशेष प्रदेश राख्नुपर्ने माग गरे ।
सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डाक्टर भट्टराईले भने– उत्पीडनमा परेका सदुदाय तथा वर्गहरूले सद्भावको कुरा गर्न आवश्यक छैन । त्यसैले उत्पीडित समुदायले लडेर नैै आफ्नो अधिकार प्राप्त गर्नुपर्दछ ।
डाक्टर भट्टराईले थरुहट आन्दोलनमा आफ्नो साथ र समर्थन रहेको बताए । उनले भने– यो आन्दोलनमा मेरो पूर्ण समर्थन छ ।


उनल नेपालमा ११ वटा प्रदेश नहुन्जेल शान्ति र विकास नहुने आफ्नो दाबी दोहोराए । उनले असन्तुष्ट पक्षले आफ्नो अधिकारका लागि गरेको आन्दोलन जायज हुने दाबी गरे । भने– टीकापुर आन्दोलन थारु समुदायको संविधान तथा प्रदेशको सिमांकन र नामांकनको असन्तुष्टिको अभिव्यक्ति थियो र हो ।
कार्यक्रममा नेपाली का“ग्रेसका नेता सुरेन्द्र चौधरीले बासुरी बजाएर सदभाव कायम हुन नसक्ने बताए । उनले टीकापुर घटनामा अदालतबाट जेल सजाय सुनाएका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरी सहितका “राजवन्दी” हरूलाई रिहा नगरिए जेल भर्ने तथा राष्ट्रिय असहयोग आन्दोलन गर्नुपर्ने बताए ।
राष्ट्रिय सम्मेलनको दोस्रो दिन (आज) बन्द सत्र तथा भोली (सोमबार) घोषणा सभा हुने जनाइएको छ ।
राष्ट्रिय सम्मेलनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कार्यक्रमस्थल र आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
कार्यक्रमस्थलमा सशस्त्र प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार