१० श्रावण २०८१, बिहीबार

ऐनहरूमा संशोधन गर्ने सम्बन्धी विधेयक टेबुल



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७६ माथि सामान्य छलफल भएको छ ।


प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि विधेयकमाथि सामान्य छलफल शुरु भएको हो ।
विधेयक माथिको सामान्य छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसका सांसद भरतबहादुर खड्काले ऐनहरूमा प्रदेशको नामसुदूरपश्चिम प्रदेश मात्रै राख्नका लागि गर्न लागिएको संशोधन विधेयकका लागि सरकारले प्रदेश सभालाई लामो समयसम्म स्थगित गरेकामा आलोचना गरे ।
नेकपाका सांसद महेश जोशीले प्रदेशको नामाकरण भइसकेकोले विधेयकहरूमा संशोधन आवश्यक रहेका कारण सरकारले विधेयक ल्याएको बताए ।
विधेयक माथिको छलफल अघि सुन्य समयमा नेकपाका सांसद जोशीले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंकिङ सेवा नपुगेका कारण स्थानीय तहहरूलाई काम गर्न असहज भइरहेको चर्चा गरे ।
सून्य समयमा नेपाली कांग्रेसका सांसद खड्काले डोटीमा तीन वटा वडा कार्यालयमा आगजनी गरिएकोले जनतामा त्रास बढेको बताए । सांसद खड्काले ती घटनामा बिप्लव समुहको नाम जोडिएको तथा अब नेपाली जनताले हिंसा सहन नसक्ने भएकाले सरकारले विप्लव समुहसित बार्ता गर्नुपर्ने बताए ।
सांसद खड्काले प्रदेश सरकारका मन्त्रीबाट पत्रकार दिलबहादुर छत्यालमाथि दुब्र्यवहार गरेको विषय सञ्चार माध्यममा आएकाले जवाफ दिन माग गरे ।
बैठकमा नेकपाका सांसद मानबहादुर सुनारले कञ्चनपुरको महकाली नगरपालिकाको नाम नगर सभाको निर्णय अनुसार दोधाराचाँदनी नगरपालिका राख्ने भनिए पनि संघीय सरकारले हालसम्म कुनै निर्णय नदिएका कारण प्रदेश सरकारसित पहल गर्न माग गरे ।
त्यस्तै, राष्ट्रिय जनता पार्टीका सांसद मालामति राना थारुले जेठ २३ को हावाहुरी पिडीतहरूको राहत पाउन नसकेकोले सबैलाई क्षति अनुसार राहत दिन माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार