१० श्रावण २०८१, बिहीबार

राहत वितरणमा सहमति



धनगढी । राहत वितरणमा विभेद भएको भन्दै आन्दोलनमा रहेका हावाहुरी पीडितहरू र धनगढी उपमहानगरपालिका सहितका सरोकारवालाहरूबीच राहत वितरणमा सहमति भएको छ ।


उपमहानगरपालिका वडा नम्बर १२ का हावाहुरी पीडितहरूले राहत वितरणमा भेदभाव भएको भन्दै गत सोमबारदेखि वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै उपमहानगरपालिकामा घेराव गर्दै आएका थिए ।
बिहीबार उपमहानगरपालिका प्रतिनिधी, स्थानीय राहत आन्दोलन संघर्ष समितिका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी तथा वडा प्रहरी कार्यालयका प्रतिनिधीबीचको छलफलमा राहत वितरणमा सहमति भएको छ ।
छलफलबाट वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीको संयोजकत्वमा २० सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय कैलाली तथा नेपाल रेडक्रस सोसाईटी कैलालीका प्रतिनिधी सदस्य रहने निर्णय गरिएको छ । त्यस्तै, राहत संघर्ष समितिका संयोजक श्याम कुवर, नेकपाका जयबहादुर रोकाया, नेपाली कांग्रेसका चन्द्र बिक, समाजवादी पार्टीका रामचन्द्र भट्ट, र समाजसेवी सत्यराज स्नेही पनि समितिको सदस्य रहेका छन् ।
समितिले तीन दिनभित्र राहत पाउनुपर्ने ब्यक्तिहरुको बिवरण संकलन गर्ने सहितका काम गर्ने निर्णय भएको जनाइएको छ ।
उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले जिल्ला बिपद ब्यबस्थापन समितिले बनाएको मापदण्ड र निर्णयका आधारमा राहत वितरण भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार