१० श्रावण २०८१, बिहीबार

नियमित बजार अनुगमन गर्न माग



टीकापुर । टीकापुर नगरपालिकामा हरेक महिना बजार अनुगमन आवश्यक रहेको स्थानीयको माग रहेको छ । टीकापुरमा शनिबार भएको उपभोक्ता सचेतना कार्यक्रमका सहभागीहरूले उपभोक्ताहरूको हकअधिकारको लागि बजार अनुगमन तथा नियमन कार्य प्रभावकारी बनाउन माग गरे ।


टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक मिनबहादुर शाहीले उपभोक्ताको हितलाई ध्यान दिएर जनचेतनामुलक कार्य तथा सन्देश फैलाउन आवश्यक रहेको र नगरपालिका स्वयंले कम्तिमा महिनाको एकपल्ट बजार अनुगमन गर्नुपर्ने बताए ।
कार्यक्रममा खड्क बहादुर शाह, लक्ष्मण किशोर चौधरी, टीकापुर साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष भैरव रावल, नारायणपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरन्जीवी खनाल, नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा सभापति जगदिश्वर पण्डित, पशु सेवा केन्द्रका प्रमुख श्यामराज पाण्डे, नेपाल पत्रकार महासंघका प्रदेश महासचिव योगेश रावल लगायतले उपभोक्ता अधिकारका पक्षमा सम्वद्ध निकायहरू संवेदनशील हुन आग्रह गरे ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दमनसिंह चौधरीले ऐन नियमको परिधीमा रहेर उपभोक्ताको हकअधिकार सुनिश्चिताको लागि काम गरिरहेको बताए ।
सो अवसरमा जानकी गाउपालिका उपाध्यक्ष उमा महतोले सबैले आफनो दायित्व निवार्ह गरे उपभोक्ताको अधिकार सुनिश्चित हुने बताइन् ।
टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले उपभोक्ताको अधिकारलाई ध्यान दिदै बजार अनुगमन गरिने बताए ।
टीकापुर नगरपालिकाको आयोजना, द एसिया फाउण्डेशनको सहकार्य र उपभोक्ता हित संरक्षण मंच नेपालको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा पत्रकार एकिन्द्र तिमिल्सिना र उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक धनपति ढुंगेलले प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार