१० श्रावण २०८१, बिहीबार

बुढीगङ्गा नगरपालिकामा मदिरा निषेधित



शेरबहादुर सार्की/बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले नगर भित्र अव्यवस्थित तथा अनियन्त्रितरुपले बढ्दै गईरहेको मदिरा बिक्रिवितरण तथा सेवन कार्यमा निषेध गरेको छ ।


मदिरा सेवनका कारण दिनानुदिन गाउँघरमा विभिन्त्र किसिमका झै झगडा काटमार महिला हिंसाका साथै विकास निमार्णका कार्यमा समेत अवरोध आउने भएकोले नगरपालिका क्षेत्रलाई तेस्रो नगर सभाबाट नै मदिरा निषेध क्षेत्र घोषणा गरिएको हो ।
अव्यवस्थित अनियन्त्रित मदिरालाई निषेध गरेर सुदृढ समाजको निमार्ण गर्ने उद्देश्यका साथ बुढीगङ्गा नगरपालिकाले तेस्रो नगरसभाबाट नै मदिरा निषेध गरेको नगर प्रमुख दीपक शाहले बताए ।
‘मदिराका कारण कयौँ महिला दिदीवहिनीहरुको अस्तित्व लुटिएको छ ,भने कयौ महिला दिदीवहिनीहरुको सिउँदोको सिन्दुर पुछिएको छ’, नगरका प्रवक्ता माया शाहले भने, ‘जिल्लामा हुने गरेका मुद्दा मामिलाहरुमा धेरै जस्ता मदिरा सेवनका कारणले नै हुने गरेकोले साउनको पहिलो साताबाट नै नगरपालिकामा पूर्ण मदिरा निषेध गरिएको हो ।’
मदिरा सेवन गरी जिल्लाका अधिकांश जमिनमा जताततै शिशा फालेको भेटिएको छन् । जसले गर्दा खेती लगाउन जमिन जोत्दा फुटेका काँच आउने गरेको पाइन्छ । कयौँका खेतमा खनजोत गर्दा सिसा काँचले हात खुट्टा काटिने गरेको स्थानीयको भनाइ छ ।
मदिरा बिक्रिवितरण कार्यले अव्यवस्थित अनियन्त्रणमा उग्ररुप लिएकोले यसलाई निषेध गर्न जिल्लामा हरेक सङ्घ संस्थाहरुले पनि अभियान गर्दै आएको भएपनि मदिरा बिक्रेताहरुले भने मानेको अवस्था छैन । आफूले राज्यलाई कर तिर्नु पर्ने भएका कारणले हामीले यसलाई व्यवस्थित गर्छौ तर निषेध गर्न नसकिने केही व्यापारीको भनाई छ ।
बाजुरामा मदिरा सेवनका कारण जिल्लामा भइरहेको विकृतिको रोकथाम गर्नका लागि पनि स्थानीय तहले मदिरा निषेध गर्न खोजेका छन । यसअघि त्रिवेणी नगरपालिकाले मदिरा निषेध गरेको छ भने, खप्तड छेडेदह र गौमुल गाँउपालिकाले पनि मदिरालाई व्यवस्थापन गरिसकेका छन ।
मदिरा निषेध गरेको नगरपालिकामा अहिले कुनै पनि झै–झगडा नभएपछि यहाँका महिला दिदीवहिनीहरुले खुसी प्रकट गरेका छन् । मदिरा सेवन गरी दिनानु दिन झै–झगडा गर्नेहरु अहिले व्यापार व्यवसायमा तल्लिन भएका छन् ।
स्थानीय तहको निर्णयलाई प्रहरी प्रशासनले पनि सहयोग गर्दै आएको छ । बाजुरामा कोही कसैले अवैध तथा घरेलु मदिरा बिक्रीवितरण गरेपछि त्यसलाई बरामद गर्दै स्थानीय निकायको रोहबरमा नष्ट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धबसिं भाटले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार