१० श्रावण २०८१, बिहीबार

उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट पारित



धनगढी । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित भएको छ ।
आईतबार बसेको धनगढी नगरसभा बैठकले वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । उपमहानगरपालिकाको चौथो नगर सभा असार ८ गतेदेखि शुरु भएको थियो । उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पेश गरेको वार्षिक नीति, कार्यक्रम तथा बजेटको छलफलमा ७० बढी नगर सभा सदस्यले भाग लिएका थिए ।
उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ५८ करोड ४८ हजार रुपैयाँको बजेट पारित भएको छ ।
उपमहानगरपालिकाको आगामी वर्षको बजेटमा चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ ८१ करोड ६८ लाख पाँच हजार रुपैया विनियोजन गरिएको छ । त्यस्तै, नगरपालिकामा कार्यान्वयन हुने, तर रातो कितावमा समावेश गर्नु नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख रुपैया बजेटमा समेटिएको छैन ।
उपमहानगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सुधारिएको सडक, कृषिको आधुनिकिकरण तथा ब्यवसायीकरणलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा सञ्चारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायिक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतिक विपद् तथा पूर्व तयारी, राहत वितरण, पुनस्र्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, जैविक खेती र बगरखेतीमा प्रोत्साहन, एक घर–दुई बिरुवा कार्यक्रमको निरन्तरता, वडा नम्बर १२ मा द्वारिकादेवी कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
त्यस्तै, पशु विकासतर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्लसुधार तथा पशु विमा लगायतका कार्यक्रम राखिएका छन् ।
बजेटमा पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला र मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण, तालतलैयाहरूको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धन, भादागाउँ होमस्टे प्रवद्र्धन लगायतका कार्यक्रम राखिएका छन् ।
त्यस्तै, वालबालिका तथा किशोरकिशोरीसंग उपमेयर कार्यक्रम, असहाय र बिपन्नसंग मेयर कार्यक्रम, विद्यालयको पहुच बाहिर रहेका बालवालिकालाई “झिकाउ, टिकाउ र सिकाउ” कार्यक्रम रहेका छन् ।
नीति तथा कार्यक्रम र बजेट पारित भएपछि नगरप्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार