११ श्रावण २०८१, शुक्रबार

प्रदेश सभा बैठक ः सत्तापक्षका सांसदद्वारा सरकारको बजेटको आलोचना जारी



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा जारी आर्थिक वर्ष २०७६र०७७ को प्रदेश सरकारको बजेटमाथिको छलफलको क्रममा प्रदेश सांसद्हरुले बजेटको आलोचना गरेका छन् ।

सत्ता र प्रतिपक्षीका सांसद्हरुले बुधबार बसेको प्रदेश सभाको बैठकमा पनि सरकारले टुक्रे र वितरणमुखी योजनाहरु राखेर सरकारले भ्रष्टाचारलाई बढावा दिएको बताएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सांसद्हरुले अनावश्यक योजना राखेर बजेट छुट्एको भन्दै विरोध जनाएका छन् ।
नेकपाका सांसद् रतनबहादुर थापाले प्रदेश सरकारले कर्मचारीको नातेदारको नाममा योजना गएको र सांसद्ले माग गरेको योजनामा थोरै बजेट राखेको बताए । उनले कर्मचारीले भनेर सांसद्का योजनाहरु मन्त्रीहरुले फालेको बताए । उनले सरकारले बजेट ल्याएकोमा धन्यवाद दिन नसकिने अवस्था रहेको बताए ।
प्रदेश सरकारले शुरुबाट गलत तरिकाले बजेट ल्याइरहेको बताउँदै सांसद् थापाले तेस्रो पटक सरकारले ल्याएको बजेट पनि गलत रहेको बताए । ‘पहिलो र दोस्रो पटकसम्म हामीले सह्यौंं,’ उनले भने, ‘तेस्रो पटक गल्ती गर्ने भन्दा सहने बेकुव हुन्छ । म वेकुव बन्न चाहन्न ।’
नेकपाका सांसद् हर्कबहादुर कुँवरले सरकार अवसरवादी र स्वैच्छाचारी भएको आरोप लगाए । ‘हामी यहाँ ५३ जना एउटै जहाजमा छौं । हाम्रो जहाज डुब्ने अवस्थामा छ । यो जहाज डुब्यो भने सबै डुब्छौं ।’ उनले सरकारले प्रदेश डुवाउन लागेको आशमा भने, ‘यसलाई बचाउन सबैले पसिना बगाउनु पर्छ । जहाजमा बस्ने भन्दा चलाउनेले बढि मेहनत गर्नुपर्छ । जहाजमा किला काँटा ठोकीरहेका मानिसहरुलाई पनि हामीले चेक गर्नुपर्छ । यि कुरा गरे मात्रै हाम्रो जहाज बच्नेवाला छ । यि कुराहरुबाट माथि उठ्यौं भने मात्रै लोकतन्त्र संस्थागत हुन्छ ।’
नेकपाका सांसद् लालबहादुर खड्काले प्रतिपक्षले एउटा दुइटा योजना थपाउन दुई १५÷१६ दिनसम्म सदन अवरुद्ध गरेको आरोप लगाए । ‘ठूला ठूलो भाषण गरेर साथीहरुले सदन अवरोध गरे,’ उनले भने, ‘अन्तिममा आएर एउटा दुइटा योजना थप गरेर सदन खोल्न सहमत भए ।’
उनले बजेट र कार्यक्रम जनताको मन छुने खालको ल्याउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । ‘सबै योजनामा जनताको सहभागिता, आवश्यकता र जनताको मन छुने किसिमको हुनुपर्छ,’ सांसद् खड्काले भने, ‘यसमा सरकार गम्भीर हुन जरुरी छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् कर्णबहादुर मल्लले खल्तीबाट आएका योजनाहरु खल्तीबाट ल्याएका र विधि मिचेर ल्याएको बजेट मान्य नहुने बताए । उनले सरकारले बजेट बजेट प्रतिपक्षसंगको सहमति अनुसार सच्याउनु पर्ने बताए ।
सत्तापक्षका २५ जना सांसद्हरुले हस्ताक्षर गरेर मुख्यमन्त्री बुझाएको विषयलाई लिएर सांसद् मल्लले सरकार नैतिक संकटमा परेको बताए । उनले अल्पमतमा परेको सरकार पछि हट्नुपर्नेमा सबैलाई मिलाएर लग्न लागिपरेको भन्दै सरकारको आलोचना गरे ।
राष्ट्रिय जनता पार्टी राजपाका सांसद् कृष्णबहादुर चौधरीले सरकारले नीतिगत भ्रष्टाचार गर्ने गरी बजेट ल्याएको आरोप लगाए । उनले सहमति अनुसार संसदीय समिति गठन गरेर भ्रष्टाचार गर्नेलाई पहिचान गरी कारबाही गर्न माग समेत गरे । सेटिङमा योजना लग्ने प्रवृत्ति समेत रोक्नुपर्ने सांसद् चौधरीले बताए ।
प्रतिपक्ष र सरकारबीच भौतिक पुर्वाधार विकास मन्त्रालयमा भएको भनिएको भ्रष्टाचार छानविन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । बुधबारको प्रदेश सभा बैठकमा नेकपाका तर्फबाट सांसद् मानबहादुर सुनार, मानबहादुर धामी, कुलवीर चौधरी, प्रेमप्रकाश भट्ट, अम्बरबहादुर साउँद र देवकी मल्ल तथा नेपाली कांग्रेसका तर्फबाट सांसद् देवराज पाठक, अम्बीकुमारी थापाले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार