१० श्रावण २०८१, बिहीबार

प्रदेश सभा फेरि सञ्चालन (भिडियोसहित)



धनगढी । प्रदेश सरकार र प्रतिपक्षवीच सदन चलाउने सहमति भएपछि २१ दिनदेखि लगातार अबरुद्ध सुदूरपश्चिम प्रदेश सभाको बैठक आइतबार बसेको छ ।

सरकार र प्रतिपक्षीबीच शनितबार साँझा पाँच बुँदे भद्र सहमति भएपछि लगातार आठ पटक स्थगित भएको प्रदेश सभाको बैठक आइतबार बिहान बसेको हो । बैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाको संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले सम्बोधन गरेका छन् ।

मुख्यमन्त्री भट्टले सम्बोधनको क्रममा बजेटमा कुनै असन्तुष्टि भए सदनमै त्यसमाथि छलफल गर्नुपर्ने बताए । उनले सदनमा छलफल गरेर समाधान निकाल्न सकिने बिषयमा सदन बाहिरबाट समाधानको पहल गरनु उचित नहुने समेत बताए । बजेट अपारदर्शी भएको भन्दै रातो किताब जलाएर सदन अवरोध गरेका प्रतिपक्षी सांसदहरु लक्षित गर्दै मुख्यमन्त्री भट्टले विकासका योजना कार्यान्वयन गर्न सबै एकै ठाउँ आउनुपर्ने बताए । उनले सदन अवरोध गरेर सममस्या समाधान नहुने बताए ।

प्रदेश सभाका प्रमुख प्रतिपक्षी नेता डा. रण बहादुर रावलले बजेटमा गम्भीर त्रुटीहरु रहेका कारण आफुहरुले रातो किताब जलाएर सदन अवरोध गरेको र प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्ने गरी सरकार सहमत भएकोले आइतबारदेखि सदनको अवरोध हटाएको बताए । डा. रावलले सरकारले आफुहरुसित गरेको सहमति कार्यान्यन गरेन भने जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको चेतावनी समेत दिए ।

शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सदन सुचारु गर्ने विषयमा छलफल गरेका सत्ता र प्रतिपक्षवीच सहमति भएका विषयमा भयो भन्ने चाँही आइतबार सदन बैठकमा खुलाएनन् । सदनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी नेताले सम्बोधन गरेपछि बजेट माथिको छलफल गर्ने बाटो समेत खुलेको छ ।

आइतबारकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट तथा विनियोजन विधेयक माथि सामान्य छलफल प्रारम्भ होस भनि पेश गरेको प्रस्ताव सदनले सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश सभामा सोमबारदेखि बजेटमाथि छलफल हुने छ ।
बजेटमा सामान्य छलफल होस भन्ने प्रस्ताव पेश गर्नु अघि आर्थिक मामिला मन्त्री बोहराले बजेटमा एक हजार रुपैयाको समेत योजना राखिएको भन्ने चर्चा भइरहेकोले एक हजारको योजना राखिएको नभई छपाईमा भएको त्रुटीका कारण त्यस्तो हुन गएको स्पष्टोक्ति दिएका छन् ।

प्रदेश सभाकाे अर्काे बैठक साेमबार बिहान साढे ८ बजे बस्ने सभामुख अर्जुनबहादुर थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार