२७ आश्विन २०८१, आईतवार

प्रदेश सरकार र प्रतिपक्षबीच डल्लो बजेट बाँडफाँड गर्ने सहमति



धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७६/०७७ बजेटमाथि सरकार प्रतिपक्षबीच भएको विवाद समाधान भएको छ ।

सरकार र प्रतिपक्षबीच शनिबार भएको वार्तामा सरकारले प्रतिपक्षको माग सम्बोधन गर्ने सहमति जनाएपछि विवाद समाधान भएको हो । सरकारले प्रतिपक्षको मागलाई सम्बोधन गर्ने र प्रतिपक्षले सदन अवरुद्ध नगर्ने सहमति भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका प्रमुख सचेतक तारा लामातामाङले बताए । उनका अनुसार सरकारले प्रतिपक्षका जायज मागहरुलाई सरकारले बजेटमा समावेश गर्ने राजनैतिक सहमती भएको छ ।
प्रदेश सभामा असार १ गते सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेदेखि लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले सहमती जनाएपछि आइतबारबाट सदन सुचारु हुने भएको छ । सरकार र प्रतिपक्षबीच डल्लो बजेट बाँडफाँड गरी सांसद्हरुको योजना समावेश गर्ने सहमति भएको हो ।
नेपाल काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आफ्ना मागहरुलाई सरकारले सम्बोधन गर्न सहमत भएकोले आइतबार प्रदेश सभाको बैठक बस्ने बताए ।
आर्थिक मामिला मन्त्री बोहराले बजेटको विषयलामा सत्ता र प्रतिपक्षी बिचको विवाद अन्त्य भएकोले आइतबारदेखि प्रदेश सभाको बैठक सुचारु हुने जनाए । विकास निर्माणका सवालमा सत्ता र प्रतिपक्षी नभनी एक भएर अघि वढ्नेमा दुवै पक्ष सहमत भएको उनले बताए ।
सत्ता र प्रतिपक्षका नेताहरुले वार्तामा भएको सहमती बारे विस्तृत रुपमा नबोलेपनि सरकारले बजेटमा अर्थ विविध शिर्षक राखी छुटएको पाँच अर्ब ८९ करोड ११ लाख ३७ हजार र अर्थ वित्तीय व्यवस्था शिर्षक राखी छुट्याएको ४० करोड रुपैयाँ बाँडफाँड गर्ने सहमती भएको बुझिएको छ । सो बजेट बाँडफाँड गर्दा सत्ता र प्रतिपक्षका सांसद्हरुले माग गरेका तर समावेश नभएका योजनाहरु समावेश गर्ने सहमती भएको छ ।
त्यसैगरी, आइतबार बस्ने प्रदेश सभाको बैठकमा विशेष समय राखेर सत्ता पक्षबाट नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रतिपक्षको तर्फबाट कांग्रेस संसदीय दलका नेता डा. रावलले सम्बोधन गर्ने तयारी भएको छ । विवादका कारण २१ दिनदेखि छलफल हुन नसकेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल समेत प्रारम्भ गरिने जनाइएको छ ।
प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभाको बैठक निरन्तर आठौं पटक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक निरन्तर आठौं पटक पनि स्थगित भएको छ । प्रतिपक्ष दलले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको विरोधमा प्रदेश सभाको बैठक बहिस्कार गरेपछि बैठक स्थगित भएको हो । सरकार र प्रतिपक्षी वार्ता चलेको हुनाले शनिबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभाको बैठक साँझ ६ बजेका लागि सारिएको थियो ।
साँझ अबेरसम्म वार्ता जारी रहेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी आठौं पटक संसद् बैठक स्थगित गरेका हुन् । यसअघि, प्रतिपक्षीको विरोधका कारण असार ५, ८, ११, १३, १५, १७ र १९ गतेको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार