१ माघ २०८१, मंगलवार

१६ औं धान दिवस तथा रोपाई उत्सव मनाइयो



धनगढी । सुदुरपश्चिम प्रदेशमा ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं राष्ट्रिय धान दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सुदुरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको मझँगाउमा राष्ट्रिय धान दिवस मनाएको हाे ।

यसैगरी, सोह्रौ धान दिवस तथा रोपाई उत्सव कैलालीका विभिन्न स्थानमा आइतबार विविध कार्यक्रमसहित मनाइएको छ ।
धान दिवसका अवसरमा जनप्रतिनिधि, कृषि क्षेत्रसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, किसान तथा राजनीतिकर्मीहरूको सहभागितामा धान रोपाई सहितका कार्यक्रम भए ।
धान दिवसका अवसरमा कैलालीको गौरीगंगा नगरपालिकामा रोपाई महोत्सव मनाइयो । सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका सभापति हर्कबहादुर कुँवरले धान रोपेर कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा सभापति कु“वरले प्रदेश सरकारले ल्याएको बजेटमा कृषि क्षेत्रका लागि न्युन बजेट विनियोजन गरिएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले तराईका खेतीयोग्य जमीन घडेरीमा परिणत भइरहेको र पहाडका जमीन बा“झो रहने क्रम बृद्धि हुनु चिन्ताजनक विषय रहेको बताए ।
कार्यक्रम गौरीगंगा नगरपालिका प्रमुख भिमबहादुर देउवाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सबै ११ वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, किसान तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

धनगढीमा रोपाई उत्सव

१६ औ राष्ट्रिय धान दिवशका अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रोपाई उत्सव मनाइएको छ ।
धनगढी उपमहानगरपालिकाको सहयोग तथा आशिष महिला कृषक समुहको आयोजनामा वडा ३ मा रोपाई उत्सव मनाइयो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, तथा स्थानीय किसानको सहभागिता रहेको थियो । सो अवसरमा चार कठ्ठा जमिनमा धान रोपिएको थियो ।
रोपाई उत्सवको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले स्थानीय तहको प्रयासबाट मात्रै कृषि क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए ।
उनले धनगढी उपमहानगरपालिकाले विभिन्न वडामा धान बालीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेको बताए ।
कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, कृषि महाशाखा प्रमुख लोकराज उपाध्यायले पनि मन्तव्य व्यक्त गरेका थिए ।

काँग्रेसद्वारा मलखादको आपूर्तिका लागि दबावमुलक कार्यक्रम

नेपाली कांग्रेस कैलालीले किसानलाई सहज रुपमा मलखादको आपूर्तिको व्यवस्था मिलाउन जिल्लाका सबै स्थानीय तहमा आइतबार दबाव स्वरुप ज्ञापनपत्र बुझाएको छ ।
विगतका वर्षहरूमा किसानहरूसंगै धान रोपेर असार १५ मनाउदै आएको नेपाली कांग्रेस कैलालीले यस पटक मलखादको आपूर्ति तथा किसानका समस्याप्रति गम्भीर हुन स्थानीय तह तथा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरेको छ ।
आइतबार दिउसो २ बजेदेखि ३ बजेसम्म जिल्लाका सबै १३ स्थानीय तहमा धर्ना गरिएको नेपाली कांग्रेस, कैलालीले जनाएको छ । त्यस्तै आइतबार नै का“ग्रेसले स्थानीय, प्रदेश र संघीय सरकारलाई किसानलाई सहज रुपमा मलखाद आपूर्तीको व्यवस्था मिलाउने माग सहित ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांगेस कैलालीका पार्टी सभापति नरनारायण शाहले धान रोप्ने समय सकिन लाग्दा समेत किसानले मलखाद पाउन नसकेकोप्रति सबै तहको सरकारको ध्यानाकर्षण गराइएको बताए । उनले किसानले समस्या भोगिरहेको वेला कसैको खेतमा गएर रोपाई गरेको नाटक गर्नुभन्दा सरकारलाई दवाव दिन ज्ञापनपत्र तथा धर्नाका कार्यक्रम गर्न बाध्य भएको बताए ।
“कृषी क्षेत्रको विकास, आधुनीकिकरण र आत्मनिर्भर बनाउने कुरा चुनावी घोषणापत्रमा मात्रै सिमित भएको छ” कांग्रेस सभापती शाहले भने– किसानले समयमा बिउ बिजन नपाउने, मलखाद नपाउने समस्या समाधान गर्न सकिएको छैन । सरकारले ल्याएको प्रधानमन्त्री कृषी कार्यक्रम र सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री कृषी कार्यक्रम हावादारी गफ जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार