१७ बैशाख २०८१, सोमबार

स्वास्थ्य क्षेत्रको संरचना परिवर्तनले सेवा प्रभावित



बुढितोला (कैलाली) । मुलुकको संघीय संरचनासंगै स्वास्थ्य सेवा क्षेत्रको संरचनामा गरिएको परिवर्तनले स्वास्थ्य सेवा प्रवाह नराम्ररी प्रभावित भएको स्वास्थ्य अधिकारी तथा विज्ञहरूको निष्कर्ष रहेको छ ।

विगतमा माथिदेखि तलसम्म एउटै निश्चित संरचनामा सञ्चालन भएको स्वास्थ्य सेवालाई अहिले संघ, प्रदेश र स्थानीय सरकारको मातहतमा राखिएपछि स्वास्थ्य सेवा क्षेत्रमा अन्योल तथा भद्रगोलको अवस्था सिर्जना भएको स्वास्थ्य अधिकारीहरूको ठहर छ ।
“स्वास्थ्य सेवा प्रवाह तीन द्वार (संघ, प्रदेश र स्थानीय) बाट हिड्न सक्दैन” शनिबार कैलालीको बुढितोलामा आयोजित पत्रकारहरूसंग सुदूरपश्चिमको स्वास्थ्य सेवाबारेको अन्तक्र्रियामा प्रदेशको स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर गुणराज अवस्थीले भने– निर्धारित समयभित्र स्वास्थ्यका घोषित लक्ष्यहरू प्राप्त गर्ने हो भने स्वास्थ्य सेवालाई एकद्वारबाटै सञ्चालन गर्नै पर्दछ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा नेपाल पत्रकार महासंघ, प्रदेश समितिको समन्वयमा भएको अन्तक्र्रियामा प्रदेशको स्वास्थ्य सेवाको अवस्था, चुनौति र समस्याबारे विस्तुत रुपमा प्रस्तुति गर्दै स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– स्वास्थ्य सेवा क्षेत्रको संरचना खल्बल्याएका कारण दुई वर्षयताका स्वास्थ्यका सूचकहरू कमजोर बनेको देखिएको छ ।
उनले भने– विगतमा एउटै चेन अफ कमाण्ड र एउटै निर्देशनबाट देशभरी सबै स्वास्थ्य कर्मचारी तथा महिला स्वयंसेविका परिचालन हुने गर्दथे, तर अहिले सबै लथालिङ्ग भएको अवस्था छ ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले नया“ संरचना अनुसार एउटा वडामा एक स्वास्थ्य चौकीको व्यवस्था गरिएको बताए । “साविकको एउटा गाविस अहिले वडामा परिणत गरिएको छ” उनले भने– यसले गर्दा सेवाग्राहीले सेवा प्राप्त गर्न झन् कठिनाई भोग्नु पर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य चौकी भनेका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने इकाई हुन् । त्यसैले स्वास्थ्य चौकी व्यवस्थित तथा स्रोतसाधन र जनशक्तिले भरिपूर्ण हुनुपर्दछ र आम जनताको सहज पहुच हुनु पर्दछ ।
उनले राज्यले स्वास्थ्य क्षेत्रमा विनियोजन गर्ने बजेट खर्च नभएर लागनी भएको बताए । भने– स्वास्थ्य सेवा प्रभावकारी बनाउन राज्यले कुल वार्षिक बजेटको कम्तिमा दश प्रतिशत बजेट छुट्याउनु पर्छ भन्ने विश्वभरीको मानक हो । तर, नेपालमा अहिले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा स्वास्थ्य सेवाका लागि चार दशमलव ४८ प्रतिशत मात्रै बजेट विनियोजन गरेको छ । उनले चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि संघीय सरकारले कुल बजेटको पा“च प्रतिशत र अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा चार दशमलव चार प्रतिशत मात्रै बजेट छुट्याएको बताए ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य सेवा क्षेत्रका लागि चार दशमलव ४६ प्रतिशत मात्रै विनियोजन गरेको छ ।
उनले स्वास्थ्य सेवाको क्षेत्रमा कानूनी तथा नीतिगत सम्बन्ध अहिले निकै कमजोर भएको बताए । भने– जबसम्म स्वास्थ्य सेवा क्षेत्रको संरचनामा माथिदेखि तलसम्म स्पष्ट कानूनी लिंकेज हुदैन, तबसम्म स्वास्थ्य सेवा क्षेत्र लथालिङ्ग भइरहने छ ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तर्जुमा गरेका योजनामध्ये प्रदेश सरकारले ९० प्रतिशत कटौती गरेको बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमको स्वास्थ्य सेवा उत्कृष्ट बनाउन नौ वटै जिल्लामा बृहत एकिकृत जनस्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गर्ने, सबै जिल्लामा स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्धि कार्यक्रम, पाठेघर खस्ने समस्याको शल्यक्रिया र परिवार नियोजन बन्ध्याकरण शिविर सञ्चालन योजना बनाएको छ ।
त्यस्तै, मेरा वर्ष अभियानमार्फत जनचेतना अभिबृद्धि कार्यक्रम, भिटामिन ए को पर्याप्त भण्डारण, जनप्रतिनिधिहरुसंग पैरवी, पत्रकारहरुसंग अन्तक्र्रिया र सबै स्थानीय तहमा गर्ववतीका लागि अत्याधुनिक अल्ट्रा साउण्ड सेवा सञ्चालनको योजना बनाएको छ ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले सेती तथा महाकाली अञ्चल अस्पतालका सेवा सुदृढिकरणका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए । उनले भने– सेती अञ्चल अस्पतालको सेवा प्रभावकारी र भरपर्दो बनाउने हो भने त्यहा कार्यरतमध्ये कम्तिमा ६० प्रतिशत कर्मचारीलाई अन्यत्र पठाउनु अनिवार्य भइसकेको छ ।
कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, केन्द्रीय सदस्य मीन बम, सहभागी पत्रकारहरू घनबहादुर शाह, मनमोहन स्वार, शिवराज भट्ट, हरि जोशी, वीरेन्द्र रावल, लोकेन्द्र बिष्ट, हेमन्त पौडेल, लगायतले स्वास्थ्य क्षेत्रका विद्यमान समस्या र चुनौतिबारे जिज्ञासा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासंघका प्रदेश महासचिव योगेश रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार