बजेट नसच्याए सदन चल्न नदिने चेतावनी
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रतिपक्षी दलका सांदलहरूले प्रदेश सरकारले बजेट नसच्याए प्रदेश सदन चल्न नदिने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट वितरणमुखी र विभेदपूर्ण रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले आफू कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।
कांग्रेस र राजपाले शनिबार धनगढीमा संयुक्तरूपमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् । लगातार चारपटकसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले बजेट संशोधन नगर्दासम्म सदन अवरुद्ध गर्ने चेतावनी दिए।
‘प्रदेश सरकारले असन्तुलित र अपारदर्शी बजेट प्रस्तुत गरेको छ’ यस्तो बजेटले प्रदेशका नागरिकहरूको भलो गर्दैन,’ उनले भने, ‘सानातिना योजनालाई प्राथमिकता दिएका कारण भ्रष्टाचार बढिरहेको छ । अहिले आर्थिक अनुशासन भङ्ग भएको छ।’
राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण चौधरीले बजेट विनियोजन सन्तुलित ढंगले नभएर स्वेच्छाचारी र विभेदकारी ढंगले भएकाले आफूहरू आन्दोलित हुनुपरेको बताए । एक हजारदेखि २० हजार सम्मका पनि योजना छन् ।
प्रदेश सरकारले पटक पटक वार्ताका लागि आह्वान गरे पनि बर्ता निकर्ष विहीन भइरहेको भन्दै वार्ता सफल नभएसम्म बैठक सञ्चालन गर्न नदिने उनले चेतावनी दिए ।