२ असार २०८१, शनिबार

स्टिल उद्योगको ठाउमा माछापोखरी



विरेन्द्र शाह/सुखड । कैलालीको घोडाघोडी नगरपालिका, पहलमानपुरमा स्टील उद्योगको ठाउँमा माछा पोखरी निर्माण हुन थालेको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर जलकुण्डीमा निर्माण गरिने भनिएको स्टील उद्योगको ठाउंमा माछा पोखरी बन्न थालेपछि स्थानियहरु आश्चर्यमा परेका छन ।


स्टिल उद्योग स्थापनाका लागि जमिन खरिद गरिएको आठ महिना भइसकेको छ । उद्योगका लागि जमिन खरिद गर्दा जग्गाधनीको घरको कम्तिमा एक जनालाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त भएको थियो । अहिले स्टिल उद्योगको सट्टा माछापोखरी बन्न थालेपछि स्थानीयले आपत्ति जनाएका छन् ।
स्टील उद्योग निर्माणका लागि भनेर खरीद गरिएको जमिनमा अहिले माछा पोखरी निर्माण भईरहेको छ । स्टील उद्योग संचालनका लागि उद्योग सञ्चालन समितिले स्थानीयबाट दश बिघा जमिन खरिद गरेको छ ।
गाउँमै स्टील उद्योग संचालनमा आउने भएपछि स्थानियबासीहरु रोजगारी पाउने भए सुखी भएका थिए । उद्योगका लागि भनेर नै स्थानीयले पांच लाख रुपैया प्रतिकठ्ठाको जमिन साढे दुई लाख रुपैयामा बिक्री गरेका थिए । स्थानीय सुजराम चौधरीले स्टिल उद्योग निर्माण गर्ने भनेर खरिद गरिएको जमिनमा माछा पोखरी निर्माण गर्न लागिएकोमा आफ्नो चित्त नबुझेको बताए । उनले स्टिल उद्योगको ठाउंमा माछापोखरी बन्ने भएपछि आफूहरुले पांच लाख रुपैयाका दरले जमिनको मुल्य पाउनुपर्ने जिकिर गरे ।
स्टील उद्योग संचालनका लागि सञ्चालकले स्थानीय सात जनासंग जमिन खरिद गरेको बताइएको छ । स्थानीयले सस्तो मूल्यमा खरीद गरिएको जमिनमा माछा पोखरी निर्माण गर्न लाग्दा आफुहरुसंग एक पटक पनि छलफल नगरेको गुनासो गरे ।
स्टिल उद्योग सञ्चालकहरुले वैदेशिक रोजगारीमा गएका र जाने प्रक्रियामा रहेकाहरुलाई गाउँमा रोजगारी दिने भन्दै फिर्ता बोलाएको थियो । आठ वर्ष साउदीअरबमा काम गरेका स्थानीय कृष्ण मल्लले उद्योग सञ्चालकहरुले आफूहरुलाई झुठ्ठा आश्वासन दिएर ठगेको आरोप लगाए ।
जलकुण्डीमा एक सय ५० करोड रुपैयाको लगानीमा स्टील उद्योग निर्माण गर्ने बताइएको थियो । स्टील उद्योग संचालक दिनेश भण्डारीले कानुनी जटिलताका कारण उद्योग स्थापना गर्न ढिलाई भएको दाबी गरे । उनले निकट भविष्यमै स्टिल उद्योग सञ्चालनमा आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार