१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारको बजेटमा छलफल हुन सकेन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको एक साता वितेपनि संसद्मा छलफल हुन सकेको छैन ।

प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट वितरणमुखी र पुरानै ढर्राको रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि बजेटमाथि छलफल शुरु हुन नसकेको हो । प्रदेश सरकारले आगामी वर्षको लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै बिनियोजन विधेयक टेबुल गरेपछि आह्वान गरिएको प्रदेश सभाको बैठक दुई पटक स्थगित भएको छ । असार ५ गते बिहीबारको बैठकमा बजेटको विरोध गर्दै प्रतिपक्षी सांसदहरुले अवरोध गर्दै रातो किताब जलाएका थिए ।

त्यसपछि आइतबार बिहान ८ बजे बोलाइएको बैठक पनि सूचना टा“सेर स्थगित गरिएको छ । यस बैठकमा प्रतिपक्षी सांसदहरुले अवरुद्ध गर्ने संकेत पाएपछि सभामुख अर्जुनबहादुर थापाको निर्देशनमा प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक स्थगित गरेको हो ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसदहरुले पनि प्रमुख प्रतिपक्षी दल कांग्रेससंगै बजेटको विरोधमा छन् ।
बजेटका सम्बन्धमा सरकार प्रतिपक्षीवीच संवाद भई समाधान निस्कने र सोही आधारमा आइतबार बैठक सञ्चालन गर्ने अपेक्षा सहित सभामुख थापाले बिहीबारको बैठक स्थगित गरेका थिए । तर यसबीचमा सरकार र प्रतिपक्षी दलवीच कुनै संवाद भएन । संवाद नभएपछि आइतबारको बैठकमा पनि प्रतिपक्षीको अवरोध रहने संकेत पाएपछि सूचना टा“सेर बैठक स्थगित गरिएको हो ।
प्रदेश सभा सचिव रामसिंह धामीले सभामुखको निर्देशनअनुसार आइतबारको बैठक सूचना टा“सेर स्थगित गरिएको बताए । उनले संसद् बैठक असार ११ गते बुधबारका लागि आह्वान गरिएको बताए । बजेट प्रस्तुत भएपछि लगातार दुई पटक प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार