१० श्रावण २०८१, बिहीबार

जाखोर तालमा पूर्वाधार निर्माण शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर तालमा गुरुयोजना अनुसारको पूर्वाधार निर्माण कार्य सुरु भएको छ ।
जाखोरताल क्षेत्रको विकासका लागि धनगढी उपमहानगरपालिले गत चैत्रमा गुरुयोजना बनाएको थियो ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गुरुयोजना अनुसार पूर्वाधार निर्माण कार्य सुरु भैसकेको बताए । नगरप्रमुख वडले जाखोरतालमा निर्माण हुने सबै पूर्वाधार गुरुयोजना अनुसार नै हुने बताए ।
जाखोर तालमा पूर्वाधार निर्माणका लागि साढे पाँच करोड रुपैयाँको टेन्डर भइसकेको उपमहानगरपालिकाका डिभिजनल ईन्जीनियर द्विजराज भट्टले बताए । उनले गुरुयोजना अनुसार निर्माण गरिने सबै संरचना तयार हुन २४ करोड रुपैयाँ आवश्यक पर्ने जानकारी दिए । अहिले तालको वरिपरीको ट्रयाक निर्माण भैरहेको छ ।
गुरुयोजनामा जाखोर ताल परिसरमा मन्दिर नजिक धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन संग्रहालय प्रस्ताव गरिएको छ ।
त्यसैगरी, दुई वटा प्रवेशद्वार, जाखोर र मुरफट्टी तालको बीचमा पिकनिक स्थल, मेला स्थल प्रस्ताव गरिएको छ ।
जाखोर तालको साँघुरो ठाउँमा झोलुंगे पुल, तालको उत्तरतर्फ शिवको मूर्ति राख्ने प्रस्ताव गरिएको छ । भने जाखोर ताल, मुरफट्टा र मुरफट्टी ताललाई जोडेर पदमार्ग बनाउने, त्यसको छेउमा साइकल ट्रयाक रहने जनाइएको छ । पदमार्गको एक ठाउँमा भाले कुखुराको मूर्ति समेत राखिने जनाइएको छ ।
जाखोर र मुरफट्टा तालमा पर्यटकका लागि डुंगा सञ्चालन गर्न सक्ने जनाइएको छ । त्यसैगरी, मुरफट्टी तालमा गोही र कछुवा पाल्न सकिने बताइएको छ । प्रस्ताव गरिएको १४ वटा संरचना निर्माणका लागि भ्याटबाहेक १५ करोड ७७ लाख चार हजार रुपैयाँ बजेट आवश्यक हुने गुरुयोजना निर्माणका लागि परामर्शदाता किशोर थापाले बताए । उनका अनुसार धर्मशाला र संग्रहालय निर्माणका लागि थप दुई करोड रुपैयाँ आवश्यक पर्न सक्छ । सबै गरेर करिब २४ करोड रुपैयाँ आवश्यक पर्ने छ ।
धनगढी बजारबाट ४.२ किलोमिटर टाढा रहेको जाखोर ताल आसपासमा १४९ हेक्टर क्षेत्रफलमा सर्भे गरिएको छ । आन्तरिक पर्यकटको जमघट भइरहने जाखोर तालको कुल क्षेत्रफल १२.४५ हेक्टर, मुरफट्टा ताल २.५१ हेक्टर र मुरफट्टी तालको क्षेत्रफल १.३२ हेक्टर रहेको छ । जैविक विविधतायुक्त भएकाले जाखोर ताल परिसरमा आन्तरिक पर्यटकहरूको भीडभाड हुने गर्दछ । विदाको दिनमा पिकनिक खानेदेखि घुम्ने युवायुवती, कर्मचारी पनि जाखोर तालमा पुग्ने गरेका छन् । दिनमै सयको हाराहारीमा मान्छेहरू जाखोर तालमा घुम्न आउने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम राना बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार