लगानीमैत्री वातावरण बनाउने राजश्व परिचालन नीति
उद्योगी व्यवसायी समग्र बजेट प्रति असन्तुष्ट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आधुनिक राजस्व प्रणाली विकास गरी लगानी मैत्री वातावरण बनाउने राजश्व परिचालन नीति लिएको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य मार्फत् सुदूरपश्चिम प्रदेश सरकारले आउदो वर्ष आधुनिक राजस्व प्रणाली विकास गरी लगानीमैत्री वातावरण सृजना गरी उत्पादनमुलक उद्योग तथा व्यवसाय प्रवद्र्धन र औद्योगिक संरक्षणमा टेवा प्रदान गर्ने नीति लिएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा आइतबार आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारको बजेट प्रस्तुत गर्दै जनतालाई थप भार नपर्ने गरी सबै प्रकारका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याइने बताएका थिए । उनले करको आधार फराकिलो बनाएको तर, कर भने बृद्धि नगरेको बताए ।
प्रदेश सरकारले बजेटमा वैज्ञानिक, अनुमान योग्य र पारदर्शी कर प्रणाली अवलम्वन गरी दीगो कर प्रणालीमा रुपान्तरण गर्दै जाने राजस्व परिचालन नीति लिएको उल्लेख गरेको छ । “प्रदेशको प्रशासनिक खर्चको उल्लेख्य अंश धान्न सक्ने गरी आन्तरिक राजस्व परिचालन गरिने छ’ बजेटमा उल्लेख छ– गैरकर राजस्वलाई समसामयिक लागत प्रभावी र पारदर्शी बनाई थप राजस्व परिचालन गरिने छ ।
कर बृद्धि गर्ने संघीय सरकारको अधिकार भएकाले प्रदेश सरकारले कर बृद्धि नगरेको अर्थमन्त्री बोहराले बताए । उनले आर्थिक वर्ष २०७६/०७७ मा आठ अर्ब ७३ करोड १३ लाख ५२ करोड रुपैया कर उठ्ने अनुमान गरेको बताए ।
बजेट वक्तव्यको अनुसूचि २ का अनुसार आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने कर, एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर र कृषि आयमा लाग्ने करबाट एक/एक लाख रुपैया राजश्व प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, सम्पत्ति कर (घरजग्गा रजिष्टेशन दस्तुर) बाट ३६ करोड २९ लाख ८९ हजार, वस्तु तथा सेवामा आधारित करबाट आठ अर्ब ३६ करोड ८२ लाख ६३ हजार, मुल्य अभिबृद्धि करबाट सात अर्ब ९८ करोड ७२ लाख, पुर्वाधार सेवाको उपभोग तथा सवारी साधनमा लाग्ने करबाट ३७ करोड ७७ लाख आठ हजार, मनोरञ्जन तथा विज्ञापन करबाट ३३ लाख ५५ हजार आम्दानी हुने अनुमान बजेटमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री बोहराले कृषि उत्पादनमा कर नभई कृषिको व्यवसायमा कर गतवर्षदेखि नै लगाएको बताए । उनले खेतबाँझो राख्नेलाई समेत करको दायरामा ल्याइएको बताए ।
यता, सुदूरपश्चिम प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउने राजश्व परिचालन नीति लिएको भनिए पनि सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरुले भने बजेट प्रति असन्तुष्टी जनाएका छन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वरले बजेटमा उद्योगी व्यवसायीहरुले आशा गरेको कुनै पनि विषय नसमेटिएको बताए । उनले उद्योग व्यवसायमा लगानी बढाउन केही कर छुट दिनुपर्नेमा कुनै पनि विषय नसमेटिएको बताए । अध्यक्ष कुवरले प्रदेशको उद्योग व्यवसाय प्रबद्र्धनका लागि प्रदेश सरकारले राजश्व परिचालन नीति कमजोर रहेको टिप्पणी गरे । “प्रदेशमा लगानी भित्र्याउने खालको राजस्व परिचालन नीति आएन’ अध्यक्ष कुवरले भने– यस्तो खालको नीतिले प्रदेशमा लगानीको वातावरण बन्दैन ।
सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर बोगटीले बजेटले नीति क्षेत्रलाई कुनै पनि तरिकाले सम्बोधन नगरेको बताए । उनले लगानीमैत्री वातावरण बनाई प्रदेशमा उद्योगहरु भित्र्याउन कर छुट लगायतका सुविधा दिनुपर्नेमा प्रदेश सरकारले नीजि क्षेत्रसंग छलफल नै नगरी बजेट ल्याएको बताए । उनले समग्र बजेट नै कर्मकाण्डी जस्तो टिप्पणी गर्दै उद्योगमैत्री नीतिहरु नसमेटिएको बताए । “एक स्थानीय तह एक उत्पादन र एक निर्वाचन क्षेत्र दुई उद्योग बनाउने बजेट आएको छ’ अध्यक्ष बोगटीले भने– यो कुन तरिकाले सञ्चालन हुन्छ भन्ने निश्चित छैन ।