१० श्रावण २०८१, बिहीबार

असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको निर्णय



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट तयार भएको छ । प्रदेशको मन्त्रीपरिषद्को बुधबारको बैठकले असार १ गते सार्वजनिक गर्ने बजेटलाई अन्तिम रुप दिंदै विनियोजित बजेटमा सहमति जनाएको छ ।

मन्त्रीपरिषद्ले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई आर्थिक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत दिएको छ । सहमतिस“गै अव प्रदेश सभामा सरकारले बजेट प्रस्तुत गर्नसक्ने बाटो खुलेको छ । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट तयार गरेको छ ।
प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुतको अन्तिम तयारीमा रहेको सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपड बोहराले बताए । ‘सरकारले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्ग लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने छ,’ बजेटले गरेको व्यवस्था अहिले नै खुलाउन नमिल्ने भन्दै अर्थमन्त्री बोहराले भने, ‘बजेटको विशेषता थाहा पाउन असार १ नै कुर्नुपर्छ ।’
प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराको भनाई छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्न सक्ने जनाएको छ । विगतमा संयन्त्र अभावमा बजेट खर्च गर्न नसकिएपनि अब कर्मचारी समायोजन लगायतका कुराहरू साम्य भइसकेकाले पूर्ण कार्यान्वयन हुने मन्त्री वोहराको दाबी छ । टुक्रे नभएर विशेष कार्यक्रम र योजना मार्फत मात्रै बजेट ल्याइने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार