१२ श्रावण २०८१, शनिबार

खप्तडमा गंगादशहरा मेलाको रौनक



शैलेन्द्र रोकाया/बझाङ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा यतिवेला गंगादशहरा मेलाको रौनक छाएँको छ । खप्तडमा सोमबारदेखि गंगादशहरा मेला शुरु भएको छ । खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन गंगा दशहरा मेला लाग्ने गरेको छ । यस वर्ष गंगादशहरा मेला बिहीबारसम्म चल्ने बताइएको छ ।

खप्तडमा त्रिवेणी स्नानको निकै महत्व रहेको छ । त्रिवेणीमा स्नान गर्दा सबै पाप नाश भएर जाने धार्मिक विश्वास छ । स्थानीय चित्रराज जोशीका अनुसार गंगादशहराका दिन त्रिवेणीमा स्नान गर्दा आफूले सोचेको कुरा पुरा हुने जनविश्वास रहेको छ ।
यस वर्ष पनि खप्तडमा गंगादशहरा मेलाका अवसरमा विभिन्न संघसंस्थाले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । यस क्रममा डोटी उद्योग बाणिज्य संघले यस पटक पनि खुला पुरुष भलिवल, घोडादौड र डेउडा प्रतियोगिता आयोजना गरेको छ ।
यस वर्षको गंगादशहरा मेलामा तीर्थालु तथा पर्यटकको संख्यामा बृद्धि भएको स्थानीयले बताए । खप्तडछान्ना गाउ“पालिका वडा नम्बर ३ मेल्तडीका मेखबहादुर रावलले “अझै पनि बझाङको बाटो हुदै आउने पर्यटकका लागि छोटो र आरामदायी सडक यात्राबारे पर्याप्त प्रचारप्रसार हुन नसकेको” बताए । स्थानीयका अनुसार खप्तड गंगादशहरा मेलामा २० हजार बढी तीर्थालु तथा पर्यटक आउने गरेका छन् । सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रमध्येको एक मानिन्छ ।
खप्तडमा २२ पाटन र ५२ झोती रहेका छन् । त्यस्तै, खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइकाथान, छिन्तेढुंगा, केदारढुंगा, डा“फेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन आदि आर्कषक स्थान रहेका छन् ।
शास्त्रमा यो क्षेत्रमा पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरूले तपस्या गरेको बर्णन छ । पुराणमा खप्तडलाई “खेचरादी” पर्वतका रुपमा बर्णित छ । महाभारतकालमा पाण्डवहरू लामो समय बनबासमा रहेको वेला केही समय खप्तडमा समेत विताएको किंवदन्ती रहेको छ । त्यस्तै, माइला पाण्डव भीमले हलो जोत्दा फालीले फ्याकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किंवदन्ती रहेको छ ।
यस वर्ष गंगादशहरा मेलाको अवधिभरी जाड रक्सी बेचबिखन तथा सेवनमा पूर्णरुपमा बन्देज गरिएको छ । त्यस्तै, नेपाली सेनाले मेलाका अवसरमा स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार