११ श्रावण २०८१, शुक्रबार

६ लेन सडककाे करोडौंका विद्युत सामाग्री चोरी



धनगढी । मोहनापुल–अत्तरिया ६ लेन सडक बनाउँदा विद्युत प्रशारण लाईन सारेपछि निस्केको पुराना विद्युत सामाग्रीहरु चोरी भइरहेका छन् ।

विद्युत प्रशारन लाईनमा प्रयोग गरिएका तार, फलामे च्यानल, इन्सिलेटर र पोलहरु नयाँँँँ प्रशारण लाईन विस्तारपछि निकालिएका थिए । पुरानो सामान निकालेर जम्मा गर्ने जिम्मेवारी पनि सडक निर्माण कम्पनीको भएपनि ठेकदारले समयमा जम्मा नगर्दा ति सामानहरु चोरी भइरहेका हुन् ।
सो सामानहरुको रेखदेख गर्ने र ठेकदारको विद्युत सम्बन्धी कामको अनुगमनको जिम्मेवारी पाएको विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रले चासो नदिंदा सामानहरु सडकमै अलपत्र छोडिएका छन् । एक जना विद्युत कर्मचारीका अनुसार नयाँ प्रशारण लाईन बनाइसकेपछि पुरानो प्रशारण लाईनबाट निकालिएका कतिपय सामानहरु विद्युतका उच्च ओहदामा रहेका कर्मचारीहरुको मिलेमतोमा विक्री समेत भएका छन् । परिचय नखुलाउने शर्तमा ति कर्मचारीले धनगढी वितरण केन्द्रका प्रमुख लगायतका कर्मचारीहरुले सामाग्रीहरु बेच्नुका साथै हेरचाहमा लापरबाही गरेका छन् । उनका अनुसार पुराना टुटफुट भएका इन्सिलेटर बाहेक सबै सामानहरु पुनः प्रयोग गर्न मिल्ने अवस्थामा छन् र सो सामाग्रीहरुको मुल्य करोडौंको छ ।

धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले पुरानो प्रशारण लाईनबाट निस्केका सबै सामानहरुको लगत कार्यालयमा रहेको बताउँदै सामानहरु चोरी नभएको दावी गरे । आफूहरुले विद्युतको सामाग्री विक्री नगरेको बताउँदै उनले लगत अनुसार सामानहरु ठेकदारले कार्यालयमा ल्याउने काम गरिरहेको बताए । उनले विद्युत सामाग्रीहरु अरुले चोरेर पनि काम नगाग्ने भएकाले चोरी हुने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार