१० श्रावण २०८१, बिहीबार

खुटिया–दिपालय फास्ट ट्रयाकको वन प्रयोग गर्ने सरकारको निर्णय



धनगढी । संघीय सरकारले कैलालीको खुटिया डोटीको वीपी नगर हुँदै दिपालय पुग्ने सडक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दे सो सडकमा पर्ने वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको जनाएपछि कैलाली र डोटीमा खुसीयाली छाएको छ ।
संघीय सरकारले चालु आर्थिक बर्षमा सो सडकको ट्रयाक खोल्न १२ करोड रुपैयाँ छुट्टाएको थियो । तर वन क्षेत्रका कारण ट्रयाक खोल्ने काम प्रभावकारी ढंगले अघि बढ्न सकेको थिएन ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पटक पटक काठमाडौं गएर संघीय सरकारलाई सो सडकमा पर्ने वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गर्न आग्रह गरेका थिए । ‘कैयौ पटक वन मन्त्रालय गएर के वाधा छन् भन्ने समेत हेरे’ उनले भने ।
२०६५ देखि निर्माण शुरू भएको खुटिया–दिपायल फाष्ट ट्रयाक सडकको २७ किलो मिटर ट्रयाक खोल्न बाँकी रहेको हसनपुर, खुटिया–बीपीनगर–दिपायल आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रेमदत्त भट्टले बताए ।

वन क्षेत्र प्रयोग गर्न पाइने भएपछि कामले गति लिन्छ इन्जिनियर भट्टले बताए । नयाँ बजेटमा समेत सो सडक बनाउने भनिएको छ । यद्दपि, बजेट ऐकिन गरिएको छैन । केही समय खुटिया–दिपालय सडक संघीय सरकारले बनाउने कि प्रदेश सरकारले बनाउने भन्ने अन्योलता थियो तर अहिले संघीय सरकारले नै बनाउने भन्ने स्पष्ट निर्णय भएको छ ।
प्रदेशले बनाउने भनेर हसनपुर, खुटिया–बीपीनगर–दिपायल आयोजना कार्यालय खुलेको पनि हो तर अव यो कार्यालय संघीय सरकारको सडक डिभिजनलाई हस्तान्तरण हुँदैछ इन्जिनियर भट्टले बताए ।
कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म कुल ८२ किमी सडक मध्ये डोटी–गडसेरा ३० किमी, बीपीनगरदेखि काफलतडीसम्म आठ किमी र अन्य विभिन्न स्थानसहित १७ किमी गरेर कुल ५५ किमी सडकको मात्रै ट्रयाक खुलेको छ ।
सो सडक बनेपछि दिपायल पुग्न चार घण्टा मात्रै लाग्ने छ । जवकी अहिले झण्डै एक सय ८० किलोमिटर छिचोलेर आठ घण्टामा दिपायल पुगिन्छ । सो सडक बनेपछि अछाम र बाजुराका यात्रुलाई पनि निक्कै सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार