१० श्रावण २०८१, बिहीबार

कार्यालयका लागि जानकीले पायो डेढ विघा



धनगढी । जानकी गाउँपालिकाले कार्यालय स्थापनाका लागि डेढ विघा जमीन पाएको छ ।

टीकापुर नगरपालिका वडा नं. १ का कर्णप्रताप जबराले जानकी गाउँपालिकालाई एक विघा १२ कठ्ठा १० धुर जमीन दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले गाउँपालिकाको कार्यालय रहेको ठाउँ भन्दा एक किलोमिटर टाढा लम्की–टीकापुर सडक किनारमा जमीन प्राप्त भएको बताए ।
गाउँपालिकाको नाममा सो जमीन पास भएपछि जबराले गाउँपालिकालार्इ मंगलबार जग्गाकाे कागजात हस्तान्तरण गरेका छन् । सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष उमा महतो र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद विष्टको पनि सहभागिता थियो । अध्यक्ष चौधरीले जमीन प्राप्त भई सम्मान गरेको फेसबुक स्टाटस लेखी जबरालाई नमन् गर्दै उनको दीर्घायुको कामना गरेका छन् ।
अध्यक्ष चौधरीले गाउँपालिकाको कार्यालयका लागि संरचना बनाउन तत्काल डिपिआर बनाएर यसै आर्थिक वर्षमा ठेक्का प्रक्रिया अगाडि बढाइने बताए ।

७४ वर्षीय उद्योगी कर्णप्रताप राणाले जानकी गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि झण्डै डेढ करोड मूल्य बराबरको साे जग्गा हस्तान्तरणा गर्दै साँघुरो भाडाको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन भएको देखेपछि जग्गा दान गरेको बताए। उनले जानकी गाउँपालिका–१ दुर्गौलीमा रहेको साे जमिन जेठ १२ गते गाउँपालिकाको नाममा नामसारी गरिदिएका हुन्। गाउँपालिकाले राणालाई कार्यपालिका बैठकमा सम्मानसहित धन्यवाद व्यक्त गरेको छ। राणाको सम्मानमा भब्य समारोह गर्ने सोचमा रहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए।

उनले २०६० सालमा दीप इट्टा उद्योग सञ्चालनका लागि साढे १५ विगाह जग्गा किनेका थिए। उनले इट्टा उद्योग छोड्ने क्रममा आफूसँग भएको जग्गा गाउँपालिकालाई दान गरेका हुन्। ‘म अब काम गर्न सक्दैन’ उनले भने–‘सबै ऋणसापट तिरेर ढुक्कले बस्छु।’

राणाले गाउँपालिकालाई जग्गा दिनुका पछि कुनै ठूलो स्वार्थ छैन। सोही जग्गासँग जोडिएको उनको थप १४ विगाह जमिन छ। गाउँपालिकाको भवन निर्माण भएपछि त्यही जग्गाको मूल्य बढ्ने राणाको अपेक्षा छ। उनले आफूसँग भएको जग्गा थोरै महंगोमा बेच्न पाए इट्टा उद्योग सञ्चालनका क्रममा लागेको ऋण तिर्ने इच्छा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार