१० श्रावण २०८१, बिहीबार

खानेपानी अभावमा पहाडी जिल्लाका बस्ती खाली हुँदै



धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खानेपानीको चर्को अभाव झेल्न नसकेपछि बसाइसराई तिब्र भएको छ ।


सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरिय खानेपानी तथा सरसफाइ अधिकार गोष्ठीमा सहभागी हुँदै विभिन्न जिल्लाका प्रतिनीधिहरुले खानेपानी समस्याका कारण बस्तीहरु खाली हुँदै गएको धारणा राखेका थिए । डोटीका मिलन परियारले सुदूरपश्चिमको सबै भन्दा पुरानो सिलगढी बजारको बस्ती खानेपानीकै कारण पातलिदै गएको दावी गरे ।
सो अवसरमा खानेपानीको व्यवस्था हुन नसके कैयौ बस्तीहरु उजाड वन्ने चिन्ता समेत गरिएको थियो । प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले समस्या ग्रस्त क्षेत्र पहिचान गरेर खानेपानीको व्यवस्था गर्नुपर्ने नभए बस्ती सारिनु पर्ने धारणा राखे ।
सोही अवसरमा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले खानेपानी पाउन उपभोक्ताका अधिकार बलियो बनाउने गरेर कानून निर्माण गर्नुपर्ने बताउदै सुदूरपश्चिम प्रदेशका हरेक बस्तीमा खानेपानी पुगाउने प्रयासमा आफू लागि रहेको बताए ।


कार्यक्रममा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले समस्या ग्रस्त क्षेत्रमा पानी संकलन गरेर भए पनि पानी खुवाउनु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु पूर्णा जोशी, मानबहादुर धामी, अमर साउद लगायतले प्रदेशको आगामी बजेटमा विशेष प्राथमिकताका साथ खानेपानी क्षेत्रमा वजेट विनियोजन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका प्रदेश अध्यक्ष यज्ञराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले नेपालको खानेपानीको अवस्थावारे चर्चा गरे । उनले ८८ प्रतिशत नेपाली खानेपानीको पहुँचमा भएपनि १५ प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेको तथ्य रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार