१० श्रावण २०८१, बिहीबार

सहकारी संस्थाहरूलाई एकापसमा गाभिन आग्रह



धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सहकारी संस्थाहरूलाई एकापसमा गाभिन आग्रह गरेकी छन् ।

केन्द्रीय बचत तथा ऋण सहकारी संस्था महासंघ (नेफस्कुन) सुदूरपश्चिम प्रदेश समितिले सोमबार धनगढीमा आयोजना गरेको आन्तरिक सुशासन तथा लेखा सुपरीक्षण अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले काम गर्न नसकेका सहकारी संस्थाहरू एकापसमा गाभिएर क्रियाशील हुनुपर्ने बताएकी हुन् । उनले सहकारी संस्थाहरू मर्ज नभएसम्म सहभागीमा वित्तीय अनुशासन कायम नहुने र सहकारी संस्था मार्फत् चिताएको आर्थिक विकास सम्भव नरहेको बताइन् ।
मन्त्री चौधरीले सहकारी संस्थाहरूले बचत उठाउने र ऋण लगानी गर्नेमा सीमित रहेको बताइन् । उनले सहकारी मार्फत् गरीव जनताको आर्थिक विकास गर्ने लक्ष्य रहे पनि चर्को व्याज लिएर झन गरीव बनाउने काम गरिरहेको बताइन् । उनले सरकारले अव सहकारी संस्थाहरूको व्याज दर नियन्त्रण गर्ने नीति लिने समेत बताइन् ।
केही सहकारी संस्थाहरूले काम गर्नु भन्दा पनि अनुदान कै पछि लाग्ने गरेको समेत मन्त्री चौधरीले बताइन् । उनले अनुदानभन्दा पनि आफ्नो काम गर्ने विषयलाई निश्चित गर्न समेत सहकारी संस्थाहरूलाई आग्रह गरिन् ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका सचेतक तारा लामा तामाङले जुनसुकै विषयको सहकारी संस्था भए पनि बचत उठाउने र ऋण लगानी गर्ने काममै सीमित रहेको बताए । उनले कैलाली र कञ्चनपुरमा रहेका सहकारी संस्थाहरू मध्ये दुईचार वटा सहकारीले मात्रै देखाउन मिल्ने गरी काम गरेको बताए । उनले सहकारी संस्थाहरूले सबै विषयमा हात हाल्नुभन्दा कुनै एक क्षेत्रमा विज्ञता हासिल गर्ने गरी काम गर्नुपर्ने बताए ।
नेफस्कुनका प्रदेश अध्यक्ष माधवप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई नेफस्कुनका लेखा समिति संयोजक डामोदर अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सुदूरपश्चिमका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार