११ श्रावण २०८१, शुक्रबार

रनवे मर्मत तथा स्तरोन्नतीका लागि धनगढी विमानस्थल एक महिनाका लागि बन्द



धनगढी । धनगढी विमानस्थलको रनवे मर्मत तथा स्तरोन्नतीका लागि आइतबारदेखि एक महिनाका लागि उडान बन्द गरिएको छ ।

धनगढी विमानस्थल कार्यालयले एयरपोर्टको रनवेमा समस्या देखिएकाले र स्तरोन्नती पनि आवश्यक रहेकोले सो कार्य शुरु गरेको हो । दैनिक ४ देखि ५ वटा उडान हुदै आएको धनगढी एयरपोर्टको एक महिनाको बन्द अवधिमा बीच भागको आठ सय मिटर रनवे मर्मत र स्तरोन्नती गरिने धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर थापाले बताए । उनले जेठ २१ गते मात्रै धनगढी विमानस्थलमा जहाज उडान र अवरतण हुने बताए ।
त्रिभुवन विमानस्थल पछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत तथा स्तरोन्नती र पार्किङ क्षेत्र विस्तार गर्ने काम भइरहेको छ । करिब २२ करोड रुपैयाँ लगानी गरेर धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य भइरहेको प्रमुख बुढथापाले बताए ।
विमानस्थलको स्तरोन्नती गर्न लुम्बिनी, कोसी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंसंग १७ करोड ८८ लाखमा एक वर्षका लागि ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले आइतबारदेखि रनवेको विच भागको आठ सय मिटर लम्बाईमा काम शुरु गरेको छ । ६० मिटर चौडाई र एक हजार आठ सय मिटर लम्बाईको कालोपत्रे रनवे रहेको धनगढी विमानस्थलको दुबैतर्फ २ र २ मिटर फराकिलो बनाइने छ ।
विमानस्थल प्रमुख बुढथापाका अनुसार कम्पनीले असार मसान्तभित्रै काम सक्ने गरी ठेक्का पाएको छ । पूर्व तयारीको काम कम्पनीले पहिले नै गरिसकेको छ । रनवेको बाँकी एक हजार मिटर लम्बाई र पार्किङ विस्तारको काम भने विमानस्थल शुचारु रहँदा पनि गरिने छ ।
१० वर्षमा रनवेको स्तरोन्नती अनिवार्य रुपमा गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि मर्मत र स्तरोन्नती गरिएको थिएन । विमानस्थलमा तीन वटा जहाजको मात्रै पार्किङको व्यवस्था छ भने पार्किङ विस्तारपछि चार वटा जहाज पार्किङ गर्न सकिने छ । विमानस्थलमा दमकलको सुविधा, एप्रोच लाइट र अन्य लाइट, सञ्चार उपकरण लगायतका सेवा थप्ने र विस्तारको काम समेत भइरहेको प्रमुख बुढथापाले बताए ।
धनगढी विमानस्थलमा बुद्ध एयरको दैनिक दुई, श्री एयरको दैनिक दुई, नेपाल एयरलाईन्सको हप्तामा तीन दिन एक÷एक उडान हुँदै आएको छ ।
मर्मत र स्तरोन्नतीका लागि विमानस्थल एक महिनासम्मका लागि बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । एक महिनाको अवधिमा यात्रुहरुलाई प्लेन चढ्न नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता हुन्छ भने विमानस्थललाई समेत मासिक करिब २६ लाखको आर्थिक घाटा हुने प्रमुख बुढथापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार