१० श्रावण २०८१, बिहीबार

भन्सार तथा राजश्व दर र नीतिबारे छलफल



धनगढी । आगामी आर्थिक वर्षमा भन्सार तथा राजश्वको दर तथा नीतिमा समेटिनु पर्ने विषयहरूबारे शनिबार धनगढीमा छलफल भएको छ ।
आन्तरिक राजश्व कार्यालय, धनगढी र कैलाली भन्सार कार्यालयको समन्वयमा संघीय अर्थ मन्त्रालय मातहतको राजश्व परामर्श समितिले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी ब्यवसायीहरूले आफूहरूले प्रस्तुत गरेका सुझावहरूप्रति कुनै चासो नदिइएकोमा गुनासो गरे ।
छलफलका क्रममा सहभागी व्यवसायीहरुले हरेक वर्ष ब्यवसायीसित छलफल गर्ने, सल्लाह लिने, तर व्यवसायीहरूका गुनासा र सुझावबारे कुनै चासो नदिने गरिएको बताए ।
शनिबार धनगढीमा अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको नेतृत्वको टोलीले सुदूरपश्चिमम प्रदेशका नौ वटै जिल्लाका उद्योग बाणिज्य संघका पदाधिकारी सहित व्यवसायीहरुसंग छलफल गरेको थियो ।
टोलीले राजश्व संकलनको अवस्था, वर्तमान नीति र आगामी आर्थिक वर्षमा ब्यवसायी र निजी क्षेत्रको सहजताका लागि नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकताका विषयमा छलफल गरिएको जनाएको छ ।
कार्यक्रममा व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा केही वर्ष करमा सहुलियत दिने ब्यवस्था गर्न सकिए उद्योग स्थापनामा लगानी भित्रयाउन सहजता हुने सुझाव दिए ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव घिमिरेले आर्थिक सम्बृद्धिका लागि आवश्यक सबै व्यवस्था गर्न सरकार तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार