३० जेष्ठ २०८१, बुधबार

मसिनो तथा बास्नादार धानखेती कार्यक्रम: लक्ष्यभन्दा बढी आवेदन



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघि सारेको मसिनो तथा बास्नादार धान खेती विस्तार कार्यक्रममा किसानको आकर्षण बृद्धि भएको छ । मन्त्रालयले मसिनो तथा बास्नादार धानखेतीका लागि आवेदनका लागि आह्वान गरेकोमा लक्ष्यभन्दा बढी आवेदन परेका छन् ।


प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैशाख ३ गते सूचना जारी गरि चालू आर्थिक वर्ष २०७५/०७६ मा कैलाली र कञ्चनपुरका लागि दुई सय बिघा जग्गामा मसिनो तथा बास्नादार धान खेती विस्तार गर्ने लक्ष्यसहित आवेदन माग गरेको थियो ।
मन्त्रालयका अनुसार कैलालीका विभिन्न स्थानबाट मात्रै चार सय दुई बिघामा धानखेती गर्नका लागि आवेदन परेको छ । मन्त्रालयले कञ्चनपुरस्थित ज्ञान केन्द्रमा संकलन भएको आवेदनहरू आउन बा“की रहेको जनाएको छ । मन्त्रालयका बरिष्ठ वागवानी विकास अधिकृत यज्ञराज जोशीले कञ्चनपुरमा पनि एक सय बिघा बढी जग्गामा मसिनो तथा वास्नादार धानका लागि आवेदन परेको हुन सक्ने अनुमान व्यक्त गरे । उनले भने– झण्डै एक सय बढी बिघा जग्गाका लागि किसान, समुह तथा सहकारी संस्थाहरूबाट आवेदन परेको हुन सक्छ ।
मन्त्रालयमा सबैभन्दा बढी सहकारी संस्था र कृषक समुहबाट आवेदन परेका छन् । व्यक्तिको हकमा कम्तिमा एक बिघा जमिनको प्रस्ताव हुनुपर्ने भएकाले आवेदन कम परेको हुन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा साम्बा मंसुली, सबयग धान, सुगन्धीत धान, सर्जु बाहुन, राम धान, सावित्री धानका लागि आवेदन परेको जनाइएको छ । योसंगै हाइव्रिड धानका लागि पनि आवेदन परेको जनाइएको छ । तर, मन्त्रालयले हाइव्रिड धानको वीऊ उपलब्ध नगराउने जनाएको छ । ‘किसानले रोजेको वीऊ हामीले उपलब्ध गराउन नसके विकल्प रोज्न आग्रह गर्छौ’ अधिकृत जोशीले भने ।
मसिनो तथा बासनादार धान खेती विस्तार कार्यक्रमका लागि आवेदन दिने मिति सकिएको भए पनि मन्त्रालयले संकलन कार्य जारी राखेको जनाएको छ । मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत जोशीले भने– १५ गतेसम्म आवेदनको माग गरिए पनि हामीले किसान, सहकारी संस्था तथा कृषक समुहरूबाट आवेदन लिने क्रम जारी राखेका छौं ।
मन्त्रालयले धानको वीऊ आपुर्तिकतालाई सूचिकृत हुन आउने बारेको सूचना पनि जारी गरेको थियो । मन्त्रालयमा राष्ट्रिय वीऊ विजन कम्पनी, युनिक र वनदेवी सहकारी संस्थाले सूचिकृत गरेका छन् । वरिष्ठ वागवानी विकास अधिकृत जोशीले भने– हामीले सरकारी कम्पनीलाई प्राथमिकता दिन्छौं । त्यहा“बाट पुगेन भने नीजि कम्पनीहरूलाई पनि समावेश गराउने छौं ।
मन्त्रालयले यो कार्यक्रमअन्तर्गत किसानलाई धान बीऊको मूल्यमा ७५ प्रतिशत अनुदान दिइने तथा जिंक सल्फेटमा अनुदान, बाली संरक्षणमा सहयोग र बाली बिमा गराउन सहयोग गरिने लगायतका सेवा सुविधा प्राप्त गर्ने जनाएको छ । सोही अनुसार मन्त्रालयले स्रोत केन्द्र पहिचान गरि किसानहरूलाई वीऊ उपलब्ध गराउने जनाएको छ । उनले भने– अब केही दिनमै वीऊ लिनका लागि सूचना जारी गर्छौ ।
मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रम अनुसार कैलाली र कञ्चनपुरमा मसिनो तथा बासनादार धान उत्पादन बृद्धि गर्दै आयात प्रतिस्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।
मन्त्रालयले कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय कञ्चनपुर, सम्पर्क कार्यालय कैलाली र सिधै मन्त्रालयमा आवेदन संकलन गरिरहेको थियो । सुदूरपश्चिम प्रदेशलाई चामलमा आत्मनिर्भर बनाउन मन्त्रालयले मोटो धानभन्दा मसिनो र बासनादार धान उत्पादन बृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
विकास अधिकृत जोशीले भने– मोटो धान र मसिनो धानको मूल्यमा खासै अन्तर नहु“दा र मसिनो धानभन्दा मोटो धान छोटो अवधिमा उत्पादन हुने तथा बजनदार हुने भएकाले कृषकहरूले प्रायः मोटो धान खेतीमा बढी ध्यान दिने गरेका छन् ।
‘४० वर्षअघि भारतमा चामल निर्यात गर्ने हामी नेपालीहरू पछिल्ला दशकमा भारतबाटै वार्षिक ठूलो परिमाणमा चामल आयात गर्न बाध्य भएका छौं’ विकास अधिकृत जोशीले भने– चामलमा आत्मनिर्भर बनाउन सबैको सहयोग आवश्यक छ ।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा पहाडका चार जिल्लामा मसिनो तथा बासनादार खेती विस्तार गर्ने जनाएको छ । मन्त्रालयले यसका लागि जिल्लाका कृर्षि ज्ञान केन्द्रमा बजेट पठाईसकेको छ । मन्त्रालयले प्रदेशको डोटीमा जोरायली बासमति धानका लागि ६० बिघा तथा बझाङ, अछाम र बैतडीमा खुमलटार जातको धान उत्पादनका लागि २०÷२० बिघामा खेती विस्तार गरिने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार