अधिकांस होटलको गुणस्तर कमजोर
धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेको अधिकांस होटलले गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका बिहिबारसम्म १६ वटा होटललाई स्तरीकरण लोगो वितरण गर्ने क्रममा अधिकांस होटलको गुणस्तरमा ध्यान दिनुपर्ने देखिएको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियत्रण कार्यालयका अनुसार हरियो दुई तारा (उत्तम स्तर ख) मा दुई होटल परेका छन् । त्यस्तै, हरियो एक तारा (सन्तोषजनक स्तर ग) मा पाँच र पहेलो (सामान्य स्तर घ) मा नौ वटा होटल परेका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार धनगढीभित्र सञ्चालनमा रहेको होटल फ्लोरा र सनलाइटले मात्र उत्तम होटलका रुपमा हरियो दुई तारे लोगो प्राप्त गरेका छन् ।
त्यस्तै, होटल दिनेश, होटल रूवश, होटल जलशा, आफनो घर टेम्पल रिसोर्ट र होटल डीभोटीले एक तारे लोगो अर्थात् सन्तोषजनक स्तर ग प्राप्त गरेका छन् । भने होटल साथी, होटल होली प्यालेश, होटल हटपट, होटल सोराइ, होटल ज्ञानु प्लाजा, होटल के आइ, होटल नयाराम, होटल विकास र होटल आस्थाले पहेलो लोगो अर्थात् सामान्य स्तर घ लोगो प्राप्त गरेका छन् ।
सो कार्यालयले धनगढीमा दुई चरणमा लोगो वितरण गर्ने कार्यक्रम मंगलबारदेखि शुरु गरेको थियो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढी वडा नम्बर ४ स्थित होटल फलोरालाई हरियो दुई तारे ‘उत्तम’ लोगो टासेर उद्घाटन गरेका थिए । लोगो टाँससंगै नगर प्रमुख वडले खाद्य स्वच्छतास्तरको प्रमाणपत्र प्रदान गरेका थिए ।
‘पहिलो चरणमा उपमहानगरपालिकाभित्र रहेका लजसहितको होटलहरूको अनुगमन गरि लोगो प्रदान गर्ने काम भएको छ’ कार्यालयका प्रमुख सुमन धितालले भने– दोस्रो चरणमा रेष्टुरेण्टको अनुगमन गरी स्तरीकरण लोगो प्रदान गर्ने काम हुने छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख धितालले राजमार्ग क्षेत्रमा रहेका होटलहरूमा गुणस्तरहिन खाना यात्रुहरू बाध्य भएको गुनासो आएपछि होटलहरूलाई स्तरीकरण स्टिकर बाड्ने काम गरिएको बताए ।होटलहरूलाई स्तरीकरण गर्नका लागि टोलीले भौतिक पूर्वाधार, सरसफाई, खाद्य स्वच्छता लगायतको ५० वटा सूचांक हेर्ने बताए । होटल, रेष्टुराँको खाद्य स्वच्छतास्तर मूल्यांकनका लागि ५० वटा प्रश्नावलीसहितको सूचांक रहेको छ । उनले भने– सूचांकका आधारमा हामीले होटलहरूलाई नम्बर प्रदान गर्छौ । उनले एक प्रश्नमा दुई अंक गरि १०० पूर्णाक रहने व्यवस्था गरिएको बताए । सोही आधारमा ९० भन्दा बढी अंक पाउने अतिउत्तम ‘क’, ८० देखि ८९ भित्रको अंक पाउने उत्तम ‘ख’, ६५ देखि ७९ सम्म अंक पाउने सन्तोषजनक ‘ग’ र ५० देखि ६४ सम्म अंक पाउने सामान्य ‘घ’ वर्गमा पर्ने गरेका छन् ।कार्यालय प्रमुख धितालले भने– होटलहरूको नियमित अनुगमन हुने र होटलहरूको माग अनुसार पुनः अनुगमन गरि होटलको अवस्था अनुसार लोगो वितरण गरिने छ ।