१० श्रावण २०८१, बिहीबार

धनगढी विमानस्थल एक महिना बन्द हुने



धनगढी । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ । धावनमार्गको मर्मत सम्भारका साथै विमानस्थलको स्तरोन्नती गर्न एक महिनाका लागि हवाई सेवा बन्द गर्न लागिएको हो ।

वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्म विमानस्थलमा हुने सम्पूर्ण उडान बन्द गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। त्रिभुवन विमानस्थलपछि सबैभन्दा लामो धावन मार्ग भएको यो विमानस्थलमा काठमाडौंबाट बुद्ध एयर, श्री एयर, नेपाल वायु सेवा निगमले नियमित उडान भर्ने गरेका छन् ।
१० वर्षमा धावन मार्गको स्तरोन्नती गर्नुपर्ने भएपनि बिगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको थिएन । यसपटक झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्कीङ क्षेत्र विस्तार लगायतको कार्य हुने प्रमुख बुढथापाले जानकारी दिए ।
बिहीबार धनगढीमा बसेको सरोकारवालाहरुको बैठकले विमानस्थलको स्तरोन्नती लगायतका काम गर्न एक महिनाका लागि यो विमानस्थलमा हुने उडान बन्द गर्ने निर्णय गरेको भएको छ । विमान स्थल बन्द गर्ने बैठकको निर्णय कार्यान्वयनका लागि नेपाल नागरिक उड्डन प्राधिकरणको प्रधान कार्यालयलाई पठाइसकेको र उसले सार्वजनिक सुचना प्रकाशित गरी विमान सेवा प्रादायक कम्पनीलाई विमान स्थल बन्द हुने बारे जानकारी गराउने प्रमुख बुढथापाको भनाई छ ।

यो विमानस्थलको स्तरोन्नती गर्न लुम्बीनी, कोसी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले १७ करोड ८८ लाखमा ठेक्का पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढी विमान स्थल निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए । उनका अनुसार ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २/२ मिटर धावन मार्ग फराकिलो बनाइने छ ।
त्यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अबथप एक जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङ क्षेत्र विस्तार, दमकलको सुविधा थप, एप्रोच लाइट र अन्य लाइटहरु थप, सञ्चार उपकरण वृद्धि लगायतका सेवा थप र विस्तारको काम पनि हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार