१० श्रावण २०८१, बिहीबार

आउँदो बजेटका लागि सुझाब संकलन



धनगढी । प्रतिनिधि सभाको अर्थ समितिले आर्थिक बर्ष २०७६÷०७७ को बजेटका लागि सुदुरपश्चिम प्रदेशका सरोकारवालाहरुसंग सुझाब संकलन गरेको छ ।


अर्थ समितिले सोमबार धनगढीमा कार्यक्रमको आयोजना स्थानीय तहका जनप्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, प्रदेश सभा सदस्य लगायतको उपस्थितिमा सुझाब संकलन गरेको हो । बजेट सुझाब संकलन उपसमिति संयोजक पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा सो कार्यक्रम भएको थियो ।
सुझाब संकलन कार्यक्रममा सहभागीहरुले बजेटमा तीन वटै सरकारको समन्वय र सहकार्य रहनुपर्नेमा जोड दिए । गौरीगंगा नगरपालिका प्रमुख भिम देउवाले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य नहुँदा एउटै प्रकृतिका योजनाहरुमा सबै सरकारको बजेट आएको बताए ।
उनले अहिलेको अभ्यासमा संघिय सरकारले सबै भन्दा पहिले बजेट ल्याउने सिस्टमलाई फेरबदल गर्नु पर्ने धारणा राखे । देउवाले बजेट तथा कार्यक्रम स्थानीय तहले पहिले ल्याएर अन्तिममा संघीय सरकारले ल्याए मात्र बजेट प्रभावकारी हुने बताए ।
कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावल, जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी, लम्कीचुहा नगरपालिका उपप्रमुख टीका थापा, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डगौरा, वडाको तर्फबाट गोदावरी नगरपालिका–२, वडाध्यक्ष कृष्णराज जोशी लगायतका जनप्रतिनिधिहरुले सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार