१० श्रावण २०८१, बिहीबार

नेभ्लाको बजेटसम्बन्धी गोष्ठी



धनगढी । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन (नेभ्ला) द्वारा आयोजित प्रदेश स्तरीय बजेट सम्वन्धी अन्तरक्रिया गोष्ठी बिहीबार धनगढीमा भएको छ ।
“समृद्धिको आधार, प्रभावकारी पशु विकासका लागि कार्यक्रम र बजेट” सम्बन्धी प्रदेश स्तरीय अन्र्तक्रिया गोष्ठी नेभ्ला केन्द्रीय कार्य समितीको आयोजना तथा सुदूरपश्चिम प्रदेश कमिटी र कैलाली जिल्ला कार्यसमितीको समन्वयमा भएको थियो ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीले संघिय सरकारबाटै बजेट अभाव हुदै आएको बताईन् । उनले प्रदेश सरकार कम बजेटमा पनि किसानको पक्षमा काम गर्दै आएको दाबि गरिन् ।
मन्त्री चौधरीले प्रदेश सरकारले कृषि र पशु पालन क्षेत्रलाई व्यवसायिक बनाएर लैजान पहल गरिरहेको बताइन् ।
सुदूरपश्चिम प्रदेश सभा सांसद नेपालु चौधरीले संघियता कार्यान्वयनको सुरुवाति चरण भएकोले कही कमिकमजोरी भएको बताए ।
कार्यक्रममा बरिष्ठ पशु चिकित्सक बसन्तबहादुर सिंहले पशुपालन र पशु स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधिकहरुले अपहेलित भएर काम गर्नुपरेको गुनासो गरे ।
उनले नेपालमा केही वर्षदेखि कृषि पशुपालन क्षेत्रमा बजेट अभाव सधै हुने गरेको गुनासो गरे ।
कार्यक्रममा सहभागीहरुले कृषि तथा पशु क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकालवालाहरुले निरासा व्यक्त गरे । सरकारले पशुपालन तथा पशु स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको सरोकारवालाहरुको गुनासो रहेको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीले सरकारको गति सुस्त भएको आरोप लगाए । उनले प्रदेश र संघ सरकारबाट पर्याप्त मात्रामा बजेट नआएको र आवश्यक कानुन र कर्मचारीको अभाव हुदा आफुहरुले काम गर्न नसकेको बताए ।
पशु चिकित्सक डाक्टर पदमराज कलौनीले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको पशुपालन क्षेत्रलाई सरकारले प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने बताए ।
नेपाल बीउ व्यवासायी संघ केन्द्रिय अध्यक्ष लक्ष्मीकान्त ढकालले सरकारले किसानलाई करमा मात्रै वृद्धि गरेको र उत्पादन र लगानिमा चासो नदिएको सुनाए । उनले किसानहरुले बैंकबाट सहुलियत दरमा ऋण पाउन नसकेको बताए ।
कार्यक्रममा नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेभ्ला कैलालीका अध्यक्ष दिपक चौधरीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सुदूरपश्चिम प्रदेश कमिटी सचिव मानबहादुर रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार