स्थानीयको माग– पुनः सिमा सर्भे गरियोस्
धनगढी । ‘दश वर्षअघि मैले जहाँ विरुवा रोपे, हुर्काएर ठुलो बनाए । अहिले त्यही ठाउँ परायाकोमा जाने भयो’ धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दा दिनेशराज सुवेदीले नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर ४ संग निरासामिश्रित आक्रोस व्यक्त गरे ।
नेपाल भारतको सीमाना छुट्याउने मुख्य पिल्लर नम्बर ७४२ र सहायक पिल्लर ७४१÷८ नम्बरको पिल्लरको सिमा सर्वेक्षण टोलीले गरेको सर्वेक्षणमा करिब ४० बिघा नेपाली भूमि भारतमा पर्न गएको स्थानीयको दाबी छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित कृष्ण सामुदायिक वनको झण्डै २५ बिघा र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित गौरि सामुदायिक वनको १५ बिघा जग्गा अहिलेको सीमा सर्वेक्षण टोलीले भारतमा परेको देखाएको छ ।
स्थानीय सुरज परियारले भने– यस क्षेत्रका बासिन्दा यही सामुदायिक वनबाट घाँस दाउराको जोहो गर्थे । अहिले सर्वेक्षण टोलीले यो सामुदायिक बनको आधा भाग भारतमा रहेको देखायो ? उनले अहिले छुट्याएको सीमाना भारतकै थियो भने विगतमा किन भारतले आपत्ति नजनाएको भनेर प्रश्न गरे ।
स्थानीय सुवेदीको पश्न छ– हामीले वर्षौदेखि उपयोग गरिरहेको जमिन एकाएक अर्काको हो भनियो भने कसरी विश्वास गर्न सकिन्छ ? उनले स्थानीयलाई विश्वास हुने गरि सर्वेक्षण टोलीले काम गर्न नसकेको गुनासो गरे । भने– यो क्षेत्रमा फेरि सर्भे गरिनु पर्दछ । उनका अनुसार क्षेत्रमा बाढी नियन्त्रण गर्न जैविक तटबन्ध पनि निर्माण गरिएको छ ।
नगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष मुरारि अधिकारीले आफूहरुले भारतको भूमिमाथि हक नखोजेको बताए । उनले भने– हामीलाई भारतको भूमि चाहिएको होइन, तर नेपाली भूमि भारतमा गाभ्न पाइदैन । वडाध्यक्ष अधिकारीले पुन सर्वेक्षण गरेर सीमा विवादको टुङ्गो लगाउन आग्रह गरे ।
बुधबार कैलाली जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टसहित सीमा सर्वेक्षण टोलीसंग भेटघाट गर्न आएका त्यस क्षेत्रका स्थानीयसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरी पनि सहभागि रहेका थिए । प्रदेश सभा सदस्य चौधरीले टोलीसंग पुनः सर्भे गर्न माग गरे ।
सीमा सर्वेक्षण टोलीका प्रमुख नापी अधिकृत जनकराज भट्टले सर्वेक्षण टोलीले सात सय नम्बरदेखि आठ सय १३ नम्बर पिल्लरसम्मको सर्भे गरिरहेको बताए । उनले अहिले टोलीले कैलाली जिल्लाको सीमा सर्वेक्षण कार्य सम्पन्न गरिसकेको बताए । उनका अनुसार टोलीले सर्वेक्षण गर्दा जिल्लाका तीन स्थानमा सीमा सम्बन्धी विवाद उत्पन्न भएको छ । टोलीले मरियाघाटमा भएको विवाद समाधान गरे पनि टीकापुरको खक्रौला र धनगढीमा सीमा विवाद कायम रहेको बताए ।
धनगढी उपमहानगरपालिकाको मुख्य पिल्लर ७४२ र सहायक पिल्लर ७४१÷८ मा विवाद रहेको छ । पहिलेको पिल्लर हराएकोले नया“ निर्माण गर्ने क्रममा सर्भे गर्दा विवाद सिर्जना भएको प्रमुख नापी अधिकृत भट्टले जानकारी दिए ।
सन् २००८ मा आएको बाढीका कारण मोहना नदीले भारततर्फ धार परिवर्तन गरेको देखिएको उनले बताए । उनले टोलीले त्यस क्षेत्रको पुनः सर्वेक्षण गर्ने सहमति भएको बताए । उनले नक्सा अनुसारको सीमाना कायम गरिने बताए ।