३ जेष्ठ २०८१, बिहीबार

त्रिनगर नाकामा नागरिक सीमा सहायता कक्ष स्थापना (भिडियो सहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुई देशीय आवतजावतलाई सहज बनाउनका लागि धनगढीको त्रिनगर भन्सार नाकामा ‘नागरिक सीमा सहायता कक्ष’ स्थापना गरेको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भारतीय सीमाना नाका त्रिनगरमा स्थापना गरेको ‘नागरिक सीमा साहायता कक्ष’ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार उद्घाटन गरेका हुन् । कक्षले विभिन्न कामले भारत जाने नेपालीको तथ्यांक राख्ने, उनीहरुलाई यात्रामा सावधान रहन सिकाउने र सीमानामा समस्यामा परेका यात्रीहरुलाई सहयोग गर्ने छ ।
कक्ष उद्घाटनको अवसरमा मुख्यमन्त्री भट्टले सहायता कक्षले रोजगारीका लागि भारत जाने नेपाली युवाहरुलाई सीमामा पर्ने समस्या समाधन हुने बताए । उनले नेपालीहरुले सीमानामा भारतीय र नेपाली पक्षबाट विभिन्न बाहानामा सास्ती बेहोर्नु परेको हुनाले त्यसलाई सामाधान गर्न प्रदेश सरकारले सहायता कक्ष स्थापना गरेको बताए ।
सुदूरपश्चिमबासीहरुले त्रिनगर र गड्डाचौकी नाकाबाट छोटो र लामो समयका लागि नेपालीहरु भारत जाने गरेको बताउँदै उनले कति नेपाली भारत जान्छन् कति फर्किन्छन् भन्ने आधिकारिक तथ्यांक नरहेकाले आफ्ना नागरिकहरुको अवस्था थाहा पाउने सरकारको दायित्व भएको बताए । उनले सहायता कक्षको माध्यमबाट भारत जाने नेपालीहरुले भारतमा के रोजगारी गर्छन् र कस्तो अवस्थामा बस्छन् भन्ने जानकारी राख्न खोजेको बताए ।

मुख्यमन्त्री भट्टले भारत जाने नेपालीहरुले भारतको सिस्टमको बारेमा थाहा नपाउने, यात्रा गर्दाको प्रक्रिया थाहा नपाउने हुनाले दुःख भोग्नु परिरहेको बताए । उनले कक्षको माध्यमबाट जनचेतना दिने काम गरिने पनि बताए ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले कक्षले आपराधिक क्रियाकलापलाई समेत निगरानी गर्नमा मद्दत पुग्ने बताए । उनले कक्षले आपराधिक क्रियाकलापलाई स्थानीय सुरक्षा निकायलाई जानकारी दिने बताए ।

उनले रोजगारीका लागि भारत जाने नेपालीको जीवन बिमा र स्वास्थ्य परीक्षणको व्यवस्था समेत सहायता कक्षबाट गरिने बताए । उनले नागरिकहरुलाई सरकार भएको अनुभूति हुने गरी काम गर्नका लागि सहायता कक्ष स्थापना गरेको बताए । उनले सहायता कक्षले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत गर्ने बताए ।

मन्त्री शाहले आउँदो बैशाख १ गतेदेखि सो कक्षले अफ्टवेयरको माध्यमबाट बायोमेट्रिक तथ्यांक राख्ने जनाए । उनले पहिलो पटक त्रिनगर नाकामा कक्ष स्थापना गरेको प्रदेश सरकारले केहि दिनमै कञ्चनपुरको गड्डा चौकी नाका र कैलालीकै खक्रौला नाकामा समेत सो कक्ष स्थापना गर्ने जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतकुमार बुढाथोकीले कक्षमा नेपाल–भारत आवतजावत गर्नेको तथ्यांक राख्ने, प्रदेश योजना तर्जुमा कार्यमा सहयोग गर्ने, नागरिकको सुरक्षा सम्बद्र्धनमा सहयो गर्ने, मानव अधिकार संरक्षण तथा सम्बद्र्धनमा सहयोग गर्ने, सीमानामा आवतजावत गर्दा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने, भारतमा रोजगारी गर्न जानेको जीवन बिमा गर्ने, भारतबाट नेपाली फर्किने नेपालीको स्वास्थ्य परीक्षण गर्ने बताए । उनले यसलाई परिस्कृत गर्दै वेवबेसमा तथ्यांक राख्ने प्रणाली समेत विकास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार